जेठ २९, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध नयाँ सैन्य आक्रमणको तयारी अन्तिम चरणमा पुगेका बेला अन्तिम समयमा त्यसलाई रोक्न निर्देशन दिएको खुलासा भएको छ ।

एनबीसी न्युजको रिपोर्टअनुसार आक्रमण सुरु हुन करिब तीन घण्टा मात्र बाँकी रहँदा ट्रम्पले सैन्य कारबाही स्थगित गर्न आदेश दिएका थिए । अमेरिकी सेनाले सम्भावित लक्ष्यहरू पहिचान गरिसकेको थियो भने अमेरिकी नौसेनाले पनि अभियानका लागि आवश्यक तयारी पूरा गरी हतियार तैनाथ गरिसकेको बताइएको छ ।
यसअघि ट्रम्पले अमेरिका छिट्टै इरानको खार्ग टापुमाथि नियन्त्रण स्थापित गर्ने दाबी गरेका थिए । तर उक्त टापु सम्भावित आक्रमण लक्ष्यहरूको सूचीमा नरहेको दाबी गरिएको छ ।
रिपोर्टमा ट्रम्पले अन्तिम समयमा निर्णय परिवर्तन गरी आक्रमण रद्द गरेपछि अमेरिकी सैन्य अधिकारीहरूबीच अन्योलको अवस्था सिर्जना भएको पनि उल्लेख गरिएको छ ।
यसबीच ट्रम्पले अमेरिका र इरानबीच चाँडै शान्ति सम्झौता हुने दाबी पटक–पटक दोहोर्याउँदै आएका छन् । उनी हालसम्म ३९ पटक यस्तो दाबी गरिसकेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
सिएनएनका अनुसार मार्च महिनायता ट्रम्पले सार्वजनिक अभिव्यक्ति, सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमसँगको कुराकानीमा कम्तीमा ३८ पटक इरान सम्झौताका लागि तयार रहेको वा सम्झौता नजिक पुगेको बताएका थिए । पछिल्लो अभिव्यक्तिसँगै यस्तो दाबीको संख्या ३९ पुगेको जनाइएको छ ।
यद्यपि इरानले भने अहिलेसम्म कुनै अन्तिम सम्झौता नभएको र महत्वपूर्ण विषयमा निर्णय हुन बाँकी रहेको बताउँदै आएको छ ।
उता, ट्रम्पले इरानमाथिको सम्भावित आक्रमण रोक्ने निर्णयबारे इजरायललाई पूर्वजानकारी नदिएको पनि खुलासा भएको छ । एक्सिओसको रिपोर्टअनुसार ट्रम्पको सार्वजनिक घोषणाअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई कुनै जानकारी दिइएको थिएन र उनी उक्त निर्णयबाट आश्चर्यचकित बनेका थिए ।
रिपोर्टमा इजरायलले लगातार अमेरिकासँग इरानमाथि सैन्य दबाब कायम राख्न आग्रह गर्दै आएको दाबी गरिएको छ । इजरायली अधिकारीहरूको बुझाइमा तेहरानले वार्तालाई समय लम्ब्याउने रणनीतिक माध्यमका रूपमा प्रयोग गरिरहेको छ ।