• २०८३ बैशाख ९ गते बुधवार

न्याय माग्न नेपालगन्जबाट पैदलै सिंहदरवारतिर

पत्रपत्रिका पढ्न लाग्ने समय : ३ मिनेट

असोज १०, बुटवल । ‘न्याय नपाउँदासम्म हाम्रा पैतालाहरू दुख्ने छैनन्,’ शनिबार बुटवलको तिनाउपुलमा भेटिएकी अधिकारकर्मी रुवि खानले भनिन्, ‘आफ्नै जिल्लामा न्याय नपाएपछि राजधानी हिँडेका हौं।’ १४ (११ महिला, ३ पुरुष) जनाको समूह हातमा ब्यानर बोकेर ९ दिनको यात्रा गरी लुम्बिनीको सदरमुकाम बुटवल आइपुगेको छ। उनीहरूको यात्रा बल्ल आधा सकिँदैछ। ५ सय १५ किलोमिटर पैदल यात्रा गर्दै उनीहरू सिंहदरवारमा न्याय माग्न पुग्ने छन्।

न्याय माग्दै नेपालगन्जबाट पैदल हिँडेर बुटवल पुगेका मृतकका आफन्त र अधिकारकर्मी। तस्बिर : अन्नपूर्ण

हातमा बाँसका लौरा बोकेका उनीहरूको यात्रा अनवरत छ। पैदल यात्राका अनेक चुनौती छन्, घाम, पानी, थकान, भोक, प्यास। तर, उनीहरूले नन्कुन्नी धोवी र निर्मला कुर्मीको न्याय प्राप्तिलाई लक्ष्य बनाएर हिँडेका छन्। सहरमा आउँदा स्थानीय अधिकारकर्मीहरू पनि केही समयका लागि उनीहरूको टोलीमा मिसिन्छन् र न्यायका लागि अपिल गर्छन्।

गत साउन ५ गते बाँकेकी नेवाजी गाउँकी धोवी घरमै झुण्डिएको अवस्थामा भेटिइन्। प्रहरीले पोस्टमार्टममा नकुन्नीले आत्महत्या गरेको देखिएको दाबी गरेको छ। तर, प्रहरीको कुरा अस्वीकार गर्दै उनका भाइ माताप्रसादले घरेलु हिंसाबाटै उनको मृत्यु भएको बताएका छन्।

प्रहरीले पोस्टमार्टम रिपोर्ट देखाउँदै छानबिन गर्न आनाकानी गरेपछि उनीहरूले न्यायको माग गर्दै अधिकारकर्मी र नागरिक समाज गुहारे। बाँकेको धेरै स्थानमा विरोध कार्यक्रम पनि भए। तर, छानबिन अघि बढेन।

धोवीसँगै उनीहरूले बाँकेकै परस्पर गाउँकी अर्की एकल महिला कुर्मी हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै ११ दिन धर्ना बसे। निर्मला गत मंसिर १६ गतेदेखि बेपत्ता छिन्। प्रहरीले उनको मृत्यु भइसकेको जनाएको छ। मृत्यु के कारण भयो भन्ने नखुलाउने प्रहरीले शवसमेत देखाएको छैन। निर्मला हराएपछि किटानी हाजेरी दिइएको थियो। उनको सम्पत्तिको लोभमा हत्या भएको हुन सक्ने अधिकारकर्मीहरू बताउँछन्।

न्यायका लागि जिल्ला प्रशासन कार्यालयमा उनीहरू धर्ना बसे। तर, उनीहरूमाथि प्रहरीले धरपकड गर्‍यो। जिल्लामै न्याय पाउने अवस्था नदेखिएपछि उनीहरू सिंहदरवार जाने निधो गरी पैदल यात्रामा निस्किए। उनीहरू सिंहदरवार पुगेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनेछन्।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले पीडितको मागबमोजिम नै घटनाको अनुसन्धान गरी प्रहरीले सरकारी वकिलमा फाइल पेस गरेको बताउँछन्। सरकारी वकिल कार्यालयले सो फाइललाई मुल्तवीमा राखेको उनले बताए। ‘हाम्री दिदीजस्तै कयौं दिदीबिहिनीको हत्या गरिएको छ। तर, सरकारले न्याय दिँदैन,’ माताप्रसादले भने,‘न्याय नपाउँदासम्म संघर्ष जारी राख्नेछौं।’

नेपालगन्जका यी दुई घटना प्रतिनिधि मात्रै हुन्। यीबाहेक लुम्बिनी प्रदेशमा दर्जनौं महिलाको शंकास्पद मृत्यु भएको छ। लुम्बिनी प्रदेशमा पछिल्लो २ महिनामा मात्रै यस्तै प्रकारका आधा दर्जन घटना भएका छन्। तर, प्रहरीले अनुसन्धान गरेको छैन।

रुपन्देहीको तिलोत्तमामा सीता भण्डारीको मृत्युपछि आफन्तहरू आन्दोलनमा छन्। १२ दिन हुँदासमेत उनको शव उठेको छैन। श्रीमान्सँग सुतेकी उनी झुण्डिएको अवस्थामा फेला परेकी थिइन। सो घटनामा श्रीमान्ले आफूले केही थाहा नपाएको दाबी गरेका छन्। प्रहरीले यो घटना पनि आत्महत्या भएको दाबी गरेको छ।

गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा १५ वटा मृत्युमा आत्महत्या दुरुत्साहन मुद्धा चलाइएको छ। अघिल्लो वर्ष त्यो ४५ वटा मृत्युमा हत्या दाबी गरिएको थियो। यी घटनामा प्रहरीको अनुसन्धान निकै कमजोर हुँदै आएको रुपन्देहीकी अधिकारकर्मी इन्दिरा आचार्य बताउँछिन्। प्रहरीले आत्महत्या किटान गरेर मात्रै पन्छिने गरेको अधिकारकर्मीको आरोप छ।

रुपन्देहीका प्रहरी प्रमुख मनोज केसी यस्ता घटनाको अनुसन्धान र प्रमाण जुटाउनै मुस्किल हुने बताउँछन्। मुद्दा चले पनि अहिलेसम्म हत्या दुरुत्साहन मुघामा कोही दोषी करार भएका छैनन्। यो समाचार आजको अन्नपुर्ण पोष्ट दैनिकमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस