माघ २९, म्याग्दी। म्याग्दीको धवलागिरी गाउँपालिका–४, केराबारीमा बिहीबार दिउँसो यात्रुबाहक बलेरो जीप दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी ६ जना घाइते भएका छन् । नाउराबाट बेनीका लागि छुटेको ग १ च ७२२२ नम्बरको जीप सडकबाट करिब २५ मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार दिउँसो १:५० तिर उक्त दुर्घटना भएको हो ।

दुर्घटनाका घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । म्याग्दीको धवलागिरी–४ का ४० वर्षीया टीका घर्ती र अछामको तुर्माखाँद–५ का २७ वर्षीय खगेन्द्र शाही गम्भीर घाइते भएका छन् । अन्य घाइतेहरूमा रौतहटका ३९ वर्षीय मनिराज लुंगेली, अछामका २० वर्षीय निरक शाही, पाँचथरका ३४ वर्षीय पालदिङ तामाङ र म्याग्दीका २२ वर्षीय छयन्द्र घर्ती रहेका छन् । उनीहरू सबैको आधारभूत स्वास्थ्य चौकी दरवाङमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार जीपमा कुल ७ जना सवार थिए । धवलागिरी-४ का ३७ वर्षीय जीप चालक नन्दबहादुर सुनारलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । दिउँसो करिब १:५० बजे दुर्घटना भएको जानकारी पाएलगत्तै प्रहरी र स्थानीय उद्धारमा खटिएका थिए।