भदौ २६, काठमाडौं । युक्रेनमा मस्कोको ‘विशेष सैन्य कारबाही’ सुरु भएयता रुसी बजारबाट बाहिरिने क्रममा विदेशी कम्पनीहरूले १०७ अर्ब डलरभन्दा बढीको नोक्सानी बेहोरेका छन्। समाचार संस्था रोयटर्सले विभिन्न कम्पनीका विवरण तथा विज्ञप्तिहरूको विश्लेषणलाई उद्धृत गर्दै यो तथ्याङ्क सार्वजनिक गरेको हो। उक्त नोक्सानी सम्पत्तिको मूल्य समायोजन र गुमेको आम्दानीका रूपमा देखिएको छ। फेब्रुअरी २०२२ देखि कर्पोरेट जगतले बेहोरेको आर्थिक धक्काको विशालतालाई उजागर गर्दै गत वर्षको अगस्टमा गरिएको गणनाको तुलनामा नोक्सानीको परिमाण एक तिहाइले बढेको हाे ।

विश्वव्यापी जोखिम परामर्शदाता कम्पनी ‘एस-आरएम’ का कर्पोरेट इन्टेलिजेन्स प्रमुख इयान मासीलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ, “रुसबाट बाहिरिने योजनामा रहेका कम्पनीहरूले अझ बढी कठिनाइको सामना गर्नुपर्ने र ठूलो मात्रामा सम्पत्तिको मूल्य समायोजन तथा नोक्सानी स्वीकार गर्नुपर्ने सम्भावना छ।”
‘येल स्कुल अफ म्यानेजमेन्ट’ को प्रतिवेदन अनुसार विगत दुई वर्षमा करिब १,००० कम्पनीहरू रुसी बजारबाट बाहिरिइसकेका छन्।
यसैबिच, फ्रान्सेली खुद्रा विक्रेता ‘ओशान’ र इटालियन कपडा समूह ‘बेनेटोन’ लगायत सयौँ कम्पनीहरू अझै पनि त्यहाँ सञ्चालनमा छन् वा तिनले आफ्नो व्यवसायलाई हालका लागि स्थगित मात्र गरेका छन्। दैनिक उपभोग्य वस्तु तथा उपभोक्ता सामग्री उत्पादन गर्ने धेरै कम्पनीहरूले रुस पूर्ण रूपमा छोड्न अस्वीकार गर्दै त्यहाँका सर्वसाधारण जनता आफ्ना उत्पादनहरूमा निर्भर रहेको तर्क प्रस्तुत गरेका छन्।