साउन २६, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष टोलीका पूर्वकप्तान रोहित पौडेललाई उनको नेतृत्व, समर्पण र योगदानका लागि धन्यवाद दिएको छ ।क्यानले रोहितको नेतृत्वमा राष्ट्रिय पुरुष टोलीले महत्वपूर्ण उपलब्धि हासिल गर्नुका साथै नेपाली क्रिकेट यात्रामा लामो समयसम्म स्मरणीय रहने क्षणहरू सिर्जना गरेको जनाएको छ ।

रोहितले टोली, देश र खेलप्रति देखाएको प्रतिबद्धता सधैँ प्रेरणादायी रहेको उल्लेख गर्दै आगामी दिनमा पनि उनले यही भावना, गौरव र समर्पणका साथ नेपालको सेवा गरिरहने विश्वास व्यक्त गरेको छ ।
क्यानले रोहितलाई सम्बोधन गर्दै भनेको छ- ‘देशको आशा बोकेर जोश, समर्पण र अटल दृढताका साथ नेपालको नेतृत्व गरेकोमा धन्यवाद रोहित ।’ सन्देशमा क्यानले रोहितले आफ्नो नेतृत्वमा गरेको योगदानको सम्मान गर्दै ‘एकपटकको लिडर सधैको लिडर’ भन्ने भावना समेत व्यक्त गरेको छ ।
क्यानले रोहितलाई एकदिवसीय कप्तानीबाट हटाएर सन्दीप लामिछानेलाई कप्तानीको जिम्मेवारी दिएको छ । रोहितलाई यसअघि नै टी-२० टिमको कप्तानीबाट हटाएर दिपेन्द्र सिंह ऐरीलाई जिम्मेवारी दिइएको थियो ।