नेपालको राजनीतिक इतिहास उतारचढाव, संघर्ष, परिवर्तन र जनअपेक्षाले भरिएको छ । पटक–पटकका राजनीतिक आन्दोलन, शासन प्रणालीको परिवर्तन, संविधान निर्माण र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना पछिसमेत जनताले अपेक्षा गरेअनुसारको सुशासन, विकास र समृद्धिको अनुभूति गर्न सकेका छैनन् । यही परिवेशमा लम्जुङ जिल्लाको दुधपोखरी गाउँपालिका–२ का युवा सामाजिक तथा राजनीतिक अभियन्ता सुरेश गिरी देशको समसामयिक राजनीतिक अवस्थाप्रति स्पष्ट र दृढ धारणा राख्ने व्यक्तिका रूपमा परिचित छन् ।

हाल काठमाडौंमा अस्थायी रूपमा बसोबास तथा व्यवसाय गर्दै आएका गिरीले आफ्नो सामाजिक र राजनीतिक कर्मथलो भने लम्जुङलाई बनाएका छन् । नेपाल दश्नामी समाजमा युवाको नेतृत्व गर्दै हाल केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका उनी समाज, राजनीति, धर्म, संस्कृति र राष्ट्रिय हितका विषयमा समय–समयमा आवाज उठाउँदै आएका छन् । उनी पुराना राजनीतिक दलका कमजोरीहरूलाई मात्र होइन, नयाँ दलहरूका त्रुटिहरूलाई पनि खुलेर औँल्याउने स्वभावका छन् ।
गिरीको बुझाइमा नेपाली जनताले पुराना दलहरूप्रति निराशा व्यक्त गर्दै परिवर्तनको आशामा नयाँ राजनीतिक शक्तिहरूलाई अवसर दिएका हुन् । तर नयाँ दलहरूले पनि पुरानै प्रवृत्ति दोहोर्याउन थाले जनताको विश्वास पुनः गुम्न सक्ने खतरा देखिएको उनको धारणा छ । विशेषगरी हाल देशभर चर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अधिवेशन तथा संगठन विस्तारका क्रममा विभिन्न तहमा देखिएका विवादहरूले उनी चिन्तित देखिन्छन् । उनका अनुसार राजनीतिक दलभित्र विचार, बहस र प्रतिस्पर्धा स्वाभाविक भए पनि केन्द्रीय तहदेखि प्रदेश, जिल्ला र पालिकासम्म झगडा, आरोप–प्रत्यारोप र गुटबन्दी देखिनु स्वस्थ राजनीतिक संस्कृतिको संकेत होइन ।
उनले प्रश्न उठाउँछन्, “यदि नयाँ दलहरूमा पनि पुरानै रोग देखिन थाल्यो भने जनताले कसलाई विश्वास गर्ने ? जनताले नयाँ विकल्प खोजेका हुन्, पुरानै प्रवृत्तिको पुनरावृत्ति होइन ।” गिरीको विचारमा राजनीति पद प्राप्त गर्ने माध्यमभन्दा पनि जनसेवा र राष्ट्र निर्माणको अभियान हुनुपर्छ । पदका लागि संघर्ष गर्ने होइन, कामका लागि संघर्ष गर्ने नेतृत्वको आवश्यकता आज देशलाई छ । जब नेतृत्वमा जिम्मेवारी, त्याग, पारदर्शिता र उत्तरदायित्वको भावना हुन्छ, तब मात्र जनताको विश्वास कायम रहन्छ । उनी स्पष्ट रूपमा भन्छन्, “म देश र जनताको हितका लागि जस्तोसुकै मूल्य चुकाउन तयार छु, तर कसैको पछाडि घुँडा टेक्दिनँ । मेरो चाहना सक्षम, स्थायी र उत्तरदायी राजनीतिक नेतृत्व हो, जसले देश र समाजको विकासलाई केन्द्रमा राखोस् ।”
राजनीतिक बहससँगै सुरेश गिरीले स्थानीय विकासका मुद्दालाई पनि उत्तिकै महत्व दिएका छन् । विशेषगरी लम्जुङ जिल्लाको विकास निर्माणका सवालमा उनी गम्भीर चिन्ता व्यक्त गर्छन् । उनका अनुसार जिल्लाका धेरै क्षेत्रमा अपेक्षित बजेट नपुग्नु, ठूला योजनाहरू नआउनु र विकासका अवसरबाट पछाडि पर्नुका कारणबारे गम्भीर समीक्षा हुन आवश्यक छ । उनी प्रश्न गर्छन्, “लम्जुङ जस्तो सम्भावना बोकेको जिल्लामा पर्याप्त बजेट किन पर्दैन चाहे पहिला होस या अहिले ? के जनप्रतिनिधिको पहुँच कमजोर भयो, कि विकास प्राथमिकतामा लम्जुङलाई उपेक्षा गरियो ?”
गिरीको धारणा अनुसार विकासको राजनीति हुनुपर्छ, राजनीतिको विकास होइन । विशेषगरी दुधपोखरी क्षेत्रका नागरिकलाई दलगत विवादभन्दा सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन र रोजगारी चाहिएको छ । जनताले विकास खोजिरहेका बेला नेताहरू पद र गुटको राजनीतिमा अल्झिनु दुःखद विषय भएको उनको भनाइ छ । देशको आर्थिक अवस्थाबारे पनि उनी चिन्तित छन् । युवाहरू ठूलो संख्यामा विदेश पलायन भइरहेका छन् । कृषि क्षेत्र कमजोर बन्दै गएको छ । उद्योगधन्दा विस्तार हुन सकेका छैनन् । बेरोजगारी बढिरहेको छ । महँगीले सर्वसाधारणको जीवन कष्टकर बन्दै गएको छ । यस्तो अवस्थामा राजनीतिक दलहरू विकास र आर्थिक सुधारको साझा एजेन्डामा केन्द्रित हुनुपर्ने उनी बताउँछन् ।
सामाजिक रूपमा पनि नेपाल विभिन्न चुनौतीहरूसँग जुधिरहेको छ । धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, जातीय एकता र राष्ट्रिय एकताको भावना कमजोर हुन नदिन सबै पक्ष सचेत हुनुपर्ने गिरीको धारणा छ । उनी नेपालको विविधता नै शक्ति भएको बताउँदै धार्मिक र सांस्कृतिक विषयलाई राजनीतिक स्वार्थको साधन बनाउन नहुनेमा जोड दिन्छन् । विदेश नीति र राष्ट्रिय सुरक्षाको विषयमा पनि सुरेश गिरी स्पष्ट धारणा राख्छन् । नेपालको सीमा समस्या, विशेषगरी भारतसँगको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको विवादलाई उनले गम्भीर राष्ट्रिय मुद्दाका रूपमा लिएका छन् । उनका अनुसार भावनात्मक नाराभन्दा कूटनीतिक दक्षता, तथ्य र अन्तर्राष्ट्रिय मान्यताका आधारमा समस्या समाधान गर्नुपर्छ ।
हालै सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिपछि जनस्तरमा मिश्रित प्रतिक्रिया आएको उल्लेख गर्दै गिरी भन्छन्, “राष्ट्रिय हितका विषयमा सरकार र सवै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्छ । पूराना दलमा पनि सवै खराव हैनन र उनीहरुको साझा धारणा पनि लिन सक्नुपर्दछ । सीमा विवाद कुनै दल विशेषको होइन, सम्पूर्ण राष्ट्रको मुद्दा हो ।” उनका अनुसार भारतसँग मित्रवत सम्बन्ध कायम राख्दै नेपालको सार्वभौमिकता र राष्ट्रिय हितको रक्षा गर्नु आजको आवश्यकता हो । त्यसका लागि सक्षम कूटनीति, राष्ट्रिय एकता र स्पष्ट रणनीति आवश्यक छ ।
क्षेत्रीय राजनीतिका उदाहरण दिँदै गिरी चेतावनी पनि दिन्छन् कि, यदि राजनीतिक नेतृत्व जिम्मेवार बन्न सकेन भने नेपालले पनि दक्षिण एशियाका केही मुलुकहरूले भोगेका राजनीतिक र आर्थिक संकटहरूबाट पाठ सिक्नुपर्ने अवस्था आउन सक्छ । जनताको विश्वास गुम्दै जाँदा राजनीतिक अस्थिरता, आर्थिक संकट र सामाजिक असन्तोष बढ्ने खतरा रहन सक्छ । उनको निष्कर्ष स्पष्ट छ—पुराना दलहरूले गरेका गल्तीबाट नयाँ दलहरूले पाठ सिक्नुपर्छ । नयाँ दलहरूले पनि यदि अपरिपक्वता, गुटबन्दी, स्वार्थ र गैरजिम्मेवारी प्रदर्शन गरे भने जनताको आशा निराशामा बदलिन समय लाग्दैन ।
आज नेपाललाई आरोप–प्रत्यारोप गर्ने नेता होइन, समाधान दिने नेतृत्व चाहिएको छ । दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्र, जनता र विकासलाई केन्द्रमा राख्ने राजनीतिक संस्कृतिको निर्माण आवश्यक छ । सुशासन, पारदर्शिता, विकास, रोजगारी, राष्ट्रिय एकता र प्रभावकारी कूटनीतिमार्फत मात्र नेपाल समृद्धिको बाटोमा अघि बढ्न सक्छ । यही विश्वासका साथ युवा नेता सुरेश गिरी आजको राजनीतिक नेतृत्वलाई आत्मसमीक्षा गर्न आग्रह गर्छन् । उनका अनुसार जनताको विश्वास जित्ने एकमात्र उपाय काममा इमानदारीता , जिम्मेवार व्यवहार र राष्ट्रप्रतिको समर्पण हो । राजनीति सत्ता प्राप्तिको साधन होइन, जनताको भविष्य निर्माण गर्ने जिम्मेवारी हो भन्ने कुरा सबै राजनीतिक शक्ति र नेतृत्वले समयमै बुझ्न आवश्यक छ ।
पत्रकार