साउन २५, काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले रोपाइँ सकिन लाग्दासमेत मधेससहित देशका विभिन्न भागमा रासायनिक मलको सहज आपूर्ति हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रचण्डले सरकारले समयमा नै पर्याप्त रासायनिक मल उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि व्यवहारमा किसानले सहज रूपमा मल पाउन नसकेको बताएका छन् । उपलब्ध मलसमेत कालोबजारी र बिचौलियाका कारण किसानसम्म समान रूपमा पुग्न नसकेको गुनासो व्यापक रूपमा आइरहेको उनको भनाइ छ ।

नेपालमा रासायनिक मल आयातको प्रक्रिया जटिल रहेकाले यसको समयमा नै पूर्वतयारी गर्नुपर्ने प्रचण्डले बताएका छन्। आफ्नो नेतृत्वमा रहेको तत्कालीन सरकारले मल आयात र वितरणको गम्भीरतालाई बुझेर समयमा नै मलको आपूर्ति तथा वितरण गर्नुका साथै आगामी आर्थिक वर्षका लागि समेत आवश्यक बजेट सुनिश्चित गरेको उनले स्मरण गरेका छन् ।
प्रचण्डले सरकारलाई रासायनिक मल आयातको प्रक्रिया यथाशीघ्र पूरा गरी पर्याप्त मलको आपूर्ति सुनिश्चित गर्न आग्रह गर्दै आगामी वर्षका लागि समेत आवश्यक तयारी गर्न तथा कालोबजारी र बिचौलियामाथि प्रभावकारी नियन्त्रण गरी किसानलाई सहज, पारदर्शी र समान रूपमा मल वितरण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।