जेठ २७, कैलाली । कैलाली जिल्ला स्कुल क्रिकेट च्याम्पियनसिपको तेह्रौँ दिन सम्पन्न पाँच खेलमा एलाइन्स स्कुल, स्वर्णिम शिक्षा सदन, सत्यवती एकेडेमी, डिस्कभरी स्कुल र ब्राइटवे पब्लिक स्कुल विजयी भएका छन्। दिनभर भएका प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै यी टोलीहरूले महत्वपूर्ण जित हात पारेका हुन्।

पहिलो खेलमा सीसीएस स्कुलले पहिले ब्याटिङ गर्दै १० ओभरमा ९ विकेट गुमाएर ६३ रन बनायो। आदित्य चन्दले १६ तथा राजेन्द्र ऐरीले १३ रन जोडे। एलाइन्सका सुवास खड्का, मुकेश यादव र टेक रावलले समान २–२ विकेट लिए। ६४ रनको लक्ष्य पछ्याएको एलाइन्स स्कुलले ८.४ ओभरमा ३ विकेट गुमाएर ६७ रन बनाउँदै ७ विकेटको सहज जित निकाल्यो। मनोज स्वाँरले अविजित २२ तथा टेक रावलले १६ रन बनाए। सीसीएसका किशन बिष्टले २ विकेट लिए। उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका टेक रावल प्लेयर अफ दि म्याच घोषित भए।
दोस्रो खेलमा गुरुकुल एकेडेमी १० ओभरमा अलआउट हुँदै ४९ रनमै सीमित रह्यो। भुपेश सिंहले १६ तथा कुशल दौल्यालले १५ रन बनाए। स्वर्णिम शिक्षा सदनका मनोज बिष्ट र सागर धामीले समान ३–३ विकेट लिए।
५० रनको लक्ष्य पछ्याएको स्वर्णिम शिक्षा सदनले ६ विकेटको क्षतिमा ५३ रन बनाउँदै खेल आफ्नो पक्षमा पार्यो। पुरुषोत्तम रावलले २५ तथा विपिन बिष्टले अविजित १३ रन जोडे। गुरुकुलका कप्तान शाहिल खड्काले ३ विकेट लिए। सागर धामी प्लेयर अफ दि म्याच घोषित भए।
तेस्रो खेलमा उज्यालो शिक्षा सदनले १० ओभरमा ९ विकेट गुमाएर ६९ रन बनायो। पुष्कर जैसीले १२ रन बनाउँदा आर्यन साउँद र विवेक बुढाले क्रमशः ११ र १० रन जोडे। सत्यवतीका कप्तान भुवन भाटले २ विकेट लिए।
जवाफमा सत्यवती एकेडेमीले ८.४ ओभरमा ६ विकेट गुमाएर ७२ रन बनाउँदै ४ विकेटको जित निकाल्यो र क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। आदित्य खड्काले १९ बलमा ४३ रनको विस्फोटक इनिङ्स खेले। उज्यालोका सुवास बिष्टले ३ तथा विवेक बुढाले २ विकेट लिए। आदित्य खड्का प्लेयर अफ दि म्याच घोषित भए। उनलाई सीवाइसी अत्तरियाका व्यवस्थापक रमेश कडायतले पुरस्कार प्रदान गरेका थिए।
चौथो खेलमा डिस्कभरी स्कुलले ९ ओभरमा अलआउट हुँदै ८१ रन बनायो। अविनास कुँवरले १५ तथा उमेश रोकायाले १२ रन बनाए। त्रीनगर माविका उज्ज्वल कठायतले ३ विकेट तथा जेम्स कठायत र सन्देश सुनारले समान २–२ विकेट लिए।
८२ रनको लक्ष्य पछ्याएको त्रीनगर मावि १० ओभरमा ९ विकेट गुमाएर ७७ रनमै रोकियो। जेम्स कठायतले अविजित १४, दिर्घराज शर्माले ११ र निशान्त दौल्याले १० रन बनाए। डिस्कभरीका कप्तान शमशेर रोकायाले ४ तथा रोहित साउँदले २ विकेट लिए। डिस्कभरी ४ रनले विजयी हुँदा शमशेर रोकाया प्लेयर अफ दि म्याच चुनिए।
दिनको अन्तिम खेल वर्षाका कारण ६–६ ओभरमा सीमित गरिएको थियो। ब्राइटवे पब्लिक स्कुलले पहिले ब्याटिङ गर्दै ६ ओभरमा ६ विकेट गुमाएर ३६ रन बनायो। मनिष बोहराले अविजित ११ रन बनाए। शैलेश्वरीका रोशन भट्टले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए।
३७ रनको लक्ष्य पछ्याएको शैलेश्वरी स्कुल ६ ओभरमा ३ विकेट गुमाएर ३२ रनमै रोकियो। भिम साउँदले अविजित १९ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। ब्राइटवेका सरोज कुँवरले २ विकेट लिए। ४ रनको रोमाञ्चक जितसँगै सरोज कुँवर प्लेयर अफ दि म्याच घोषित भए।
तेह्रौँ दिनका खेलसँगै प्रतियोगिता थप रोमाञ्चक बन्दै गएको छ भने केही टोलीहरूले क्वाटरफाइनल यात्रालाई मजबुत बनाएका छन्।