पुष २३, रामेछाप । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको यात्रुबाहक बस मंगलबार बिहान तामाकोशी नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ। रामेछापको मन्थली नगरपालिका–६ स्थित तामाकोशी नदीमा बस खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी सहायक निरीक्षक सुभाषचन्द्र मण्डलले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा परेका सात जनाको सकुशल उद्धार गरिएको छ भने उद्धार कार्य अझै जारी छ। “अहिलेसम्म ६ जनाको शव फेला परेको छ। सात जनाको जीवित उद्धार गरिएको छ,” उनले भने।
दुर्घटनास्थलमा स्थानीयवासी, नेपाल प्रहरी र ट्राफिक प्रहरीको टोलीले संयुक्त रूपमा उद्धार कार्य गरिरहेको छ।
बस कसरी दुर्घटनामा पर्यो भन्नेबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।