भदौ २३, धनगढी । धर्म फरक भए पनि मानवताको भावना एउटै हुन्छ भन्ने सन्देश धनगढीमा देखिएको छ। विश्व हिन्दु परिषद् सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा धनगढीस्थित जेन–जी मार्गमा वृहत् रक्तदान कार्यक्रम सुरु भएको छ।
कार्यक्रममा विभिन्न संघसंस्था, खेलकुदकर्मी तथा सञ्चारकर्मीसहित सर्वसाधारणले उत्साहपूर्वक रक्तदान गरिरहेका छन्। अझ विशेष त, विश्व हिन्दु परिषद्को आयोजनामा भएको रक्तदान कार्यक्रममा पहिलोपटक मुस्लिम समुदायका व्यक्तिहरूले समेत रक्तदान गरेका छन्।
रक्तदानमार्फत मुस्लिम समुदायका व्यक्तिहरूले धर्म र समुदायभन्दा माथि उठेर ‘मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो’ भन्ने सन्देश दिएका छन्। कार्यक्रममा मुस्लिम समुदायको सहभागिताले धनगढीमा धार्मिक सहिष्णुता, आपसी सद्भाव र भाइचाराको सकारात्मक उदाहरण प्रस्तुत गरेको छ। आयोजकले समेत सबै समुदायको सहभागिताले कार्यक्रमको उद्देश्य थप सार्थक बनेको जनाएको छ।

रगतको आवश्यकता परेका बिरामी तथा घाइतेको जीवन बचाउन सहयोग पुर्याउने उद्देश्यले आयोजित कार्यक्रममा सहभागी रक्तदाताहरूले स्वेच्छिक रूपमा रक्तदान गरिरहेका छन्।
धर्म फरक, आस्था फरक हुन सक्छ; तर रगतको रंग एउटै हुन्छ। धनगढीको यो रक्तदान कार्यक्रमले यही मानवीय सन्देश दिएको छ।

