• २०८३ साउन २३ गते शनिवार

जनतासँग टुटेको सम्बन्ध पुनःस्थापित गर्न एमाले महासचिव पोखरेलको आह्वान

खिमराज गिरी पढ्न लाग्ने समय : ३ मिनेट

साउन २४, काठमाडौं । पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा नेकपा एमाले तारकेश्वर नगर कमिटीद्वारा “मिसन पार्टी जागरण–२०८३ : संगठन सुदृढीकरण, चुनौती र आगामी कार्ययोजना” विषयक विशेष प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । तारकेश्वर नगर कमिटीका अध्यक्ष बासु गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रममा पार्टी सचिव राजन भट्टराई सहित केन्द्र, प्रदेश, जिल्ला तथा स्थानीय तहका नेता–कार्यकर्ता, जनप्रतिनिधि र पार्टीका शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले वर्तमान राजनीतिक परिस्थिति, संगठन निर्माण, प्रविधिको प्रयोग, सामाजिक सञ्जाल, जनसम्बन्ध तथा आगामी कार्यदिशाबारे विस्तृत धारणा राख्नुभयो । उहाँले आजको युगमा मोबाइल र सामाजिक सञ्जाललाई सही ढंगले प्रयोग गर्न नसक्ने राजनीतिक शक्ति पछि पर्ने उल्लेख गर्दै डिजिटल माध्यमलाई जनतासँग जोडिने प्रभावकारी साधनका रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । तर यसैको भर भने पर्न नहुने कुरा औंल्याउनु भयो ।

उहाँले २०७९ सालको निर्वाचनपछिको समीक्षा प्रस्तुत गर्दै मध्यम वर्ग, भूमिहीन तथा सुकुम्बासी, नवयुवा र वैदेशिक रोजगारीमा रहेका युवाहरू पार्टीबाट क्रमशः टाढिन थालेको विश्लेषण गर्नुभयो । साथै, पछिल्लो समय लोकरञ्जनवाद राजनीति वैकल्पिक शक्तिका रूपमा अगाडि आएको उल्लेख गर्दै त्यसबाट सिर्जना भएका चुनौतीलाई गम्भीर रूपमा बुझ्नुपर्ने बताउनुभयो । संगठन सुदृढीकरणका लागि प्रत्येक वडामा युवा नेतृत्व विकास तालिम सञ्चालन गर्ने, नगर कमिटीमा पनि नेतृत्व विकासलाई संस्थागत गर्ने तथा आरक्षण नीतिमार्फत नयाँ पुस्तालाई अवसर दिने नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने सुझाव उहाँले दिनुभयो । जनसंगठन बलियो नभएसम्म पार्टी बलियो हुन नसक्ने उल्लेख गर्दै युवालाई संगठनमा सक्रिय र जिम्मेवार बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो । महासचिव पोखरेलले देशको अस्तित्व, संविधान संशोधनका सम्भावित विषय, लोकतान्त्रिक शक्तिमाथि देखिएका चुनौती तथा सरकारको जनउत्तरदायित्वबारे पनि धारणा राख्नुभयो ।

उहाँले सरकारले संख्यात्मक बहुमत भए पनि जनताको दैनिक समस्याप्रति पर्याप्त संवेदनशीलता देखाउन नसकेको टिप्पणी गर्दै मलको अभाव, खाद्यान्न महँगी, ग्यासको अभावलगायतका जनजीविकाका विषयलाई राजनीतिक बहसको केन्द्रमा ल्याउनुपर्ने बताउनुभयो । उहाँले पार्टीको दायित्व सडक आन्दोलन मात्र नभई जनतालाई तथ्यका आधारमा जागरुक बनाउने, शासन प्रणाली, संसदीय मर्यादा तथा लोकतान्त्रिक अभ्यासबारे सचेत गराउने रहेको स्पष्ट पार्नुभयो । कमजोरी पहिचान गर्दै आत्मालोचना गर्ने, जनतासँग टुटेको सम्बन्ध पुनः स्थापित गर्ने र विश्वास जित्ने अभियान सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । महासचिव पोखरेलले “जनतामा जाऔँ, जनकेन्द्रित अभियान सञ्चालन गरौँ, औपचारिक सम्बन्धलाई जनसंवादमा रूपान्तरण गरौँ, आत्मालोचना गरौँ र जनताको विश्वास जितौँ” भन्ने मूल सन्देश दिँदै जनताको मन जित्ने सबैभन्दा प्रभावकारी उपाय भनेको उनीहरूका समस्या पहिचान गरी समाधानका लागि पहल गर्नु रहेको बताउनुभयो । साथै, समयानुकूल नीति, विचार र कार्यक्रममार्फत संगठनलाई जीवन्त बनाउँदै लैजानुपर्नेमा पनि उहाँले विशेष जोड दिनुभयो ।

कार्यक्रममा सामाजिक अभियन्ता विवेक थपलियाले सामाजिक सञ्जालको प्रभावकारी प्रयोग, डिजिटल सञ्चार, कन्टेन्ट निर्माण तथा पार्टीका उपलब्धिहरू प्रभावकारी रूपमा जनतासम्म पुर्‍याउन नसक्दा सिर्जना हुने चुनौतीबारे विश्लेषण प्रस्तुत गर्नुभयो । उहाँले सामाजिक सञ्जाललाई सूचना, विचार र जनसम्पर्कको सशक्त माध्यमका रूपमा उपयोग गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रमका अध्यक्ष बासु गौतमले तारकेश्वर नगर कमिटीले हालसम्म सम्पन्न गरेका संगठन विस्तार, प्रशिक्षण, जनसम्पर्क तथा विभिन्न अभियानबारे संक्षिप्त जानकारी गराउँदै आगामी दिनमा पार्टीलाई अझ सुदृढ र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । संगठन सुदृढीकरण, जनविश्वास अभिवृद्धि, युवा सहभागिता, प्रविधिमैत्री राजनीतिक अभियान तथा जनतासँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्ने स्पष्ट कार्यदिशासहित कार्यक्रम सम्पन्न भएको नगर कमिटीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस