• २०८३ भाद्र १९ गते शुक्रवार

बार्दलीभित्र लुकेको प्रेमकथा ! उत्तिसले लालीगुराँसलाई लेखेको अन्तिम पत्र !

खिमराज गिरी पढ्न लाग्ने समय : ३ मिनेट

प्रिय लालीगुराँस,
आज बार्दलीको एकान्तमा उभिएर तिमीलाई यो अन्तिम पत्र लेख्दैछु । शब्दहरू लेख्दै जाँदा हाँगाबाट पात झरेझैँ मेरा विश्वासहरू पनि झरिरहेका छन् । तर दिनानुदिन म मौनतामा बिलाएको झ्याउँकिरी जस्तो भएको छु । जब सांझ पर्छ तब हल्लाले मौनतालाई जिस्क्याउन मन लाग्छ ।

तिमीलाई थाहा छ, म कहिल्यै आँधीसँग डराइँन । हुरीले हल्लायो, वर्षाले भिजायो, घामले पोल्यो तर म उभिइरहेँ । किनकि मलाई लाग्थ्यो, मेरो छायाँ खोज्नेहरू धेरै छन् । मलाई माया गर्नेहरू धेरै छन् । मेरो छहारीमा बस्ने चराहरूले कहिल्यै साथ छोड्दैनन् । तर उक्साएर आखिर शिकारीको जालोमा पार्दैछन् मलाइ । हुन त मेरो पनि फुर्किने बानी छ । अग्रजलाई सम्मान गर्न जान्दिन । भीर भरी बग्रेल्ती अग्रजहरु छन र तिनैको सहाराले बाँचेको पनि छु तर मेरो बोल्ने ठेगान नभएर नै होला इमान्दारिता नै मौनतामा अल्झिएको छ ।

तर आज थाहा पाएँ, जंगलको सबैभन्दा ठूलो खतरा बाहिरबाट आउने आँधी रहेनछ, आफ्नै जरा मुनि उम्रिने विषालु कीराहरू रहेछन् । लालीगुराँस, अहिले म आफूलाई माकुराको बच्चाले बुनेको जालोभित्र फसेको निरीह कीराजस्तो महसुस गरिरहेको छु । जालो कसैले बाहिरबाट बुनेको होइन, मेरै वरिपरि घुम्ने आफ्नैहरूले बुनेका हुन् । जसलाई मैले आफ्नो सम्झिएँ, उनीहरूकै धागो आज मेरो गलपासो बनेको छ ।

तर आज थाहा पाएँ, जंगलको सबैभन्दा ठूलो खतरा बाहिरबाट आउने आँधी रहेनछ, आफ्नै जरा मुनि उम्रिने विषालु कीराहरू रहेछन् ।

वनमा नयाँ ऋतु ल्याउने सपना देखियो । सुकेका खोलामा फेरि पानी बगाउने, उजाड पाखामा हरियाली फर्काउने, थाकेका बिरुवालाई मलजल गर्ने प्रयास पनि भयो । तर हरेक नयाँ पालुवा पलाउन खोज्दा कसैले जरामै कुल्चिदियो । बाहिरबाट आएका आँधीहरू आफ्नै बगैँचाका काँडाहरूले रगत धेरै बगाए । राजनीतिक प्रतिशोधको आगोले जंगल यति तातिएको छ कि अब फूलको सुवासभन्दा धुवाँको गन्ध बढी आउन थालेको छ । यहाँ राम्रो कामभन्दा राम्रो काम गर्नेलाई रोक्ने दौड चलेको देख्दा मन चसक्क दुख्छ ।

तिमी त हिमालको शिरमा फुल्ने फूल हौ । तिमीमाथि हिउँ परे पनि फेरि फुल्छ्यौ । तर म भने दिनदिनै आफ्नै बोक्रा भित्रबाट खोक्रो हुँदै गएको छु । आज एउटा सत्य स्वीकार्न मन लागेको छ, “मलाई धेरैले माया गरे, तर साथ दिनेहरू बिस्तारै मौन भए । जसलाई आफ्नै सम्झिएँ, उनीहरूले नै वरिपरि जालो बुने । त्यो जालो यति कसिलो बन्यो कि आज आफ्नै सास पनि भारी लाग्न थालेको छ, लालीगुराँस । आखिर यो जंगलमा टिक्नभन्दा ढाल्न चाहनेहरूको संख्या धेरै रहेछ ।”

यदि कुनै दिन म ढले भने, यो सम्झनु कि, म आँधीसँग हारेर होइन, आफ्नै जंगलको मौन प्रतिशोधसँग थाकेर ढलेको हुनेछु ।

तर मैले कहिल्यै सोचेकै थिइनँ, म ढाल्नका लागि कुल्हाडीभन्दा आफ्नै छायाँहरू नै पर्याप्त हुनेछन् भनेर । बाहिरका आँधीसँग त जुध्न सकिन्थ्यो, तर आफ्नै हाँगामा बसेका किराले दिनदिनै जरासम्म खोक्रो बनाउँदा कुनै आवाज निस्कँदो रहेनछ । मलाई धेरैले माया गरे, ताली पनि धेरै बजाए, तर जब जालो च्यात्ने बेला आयो, सबै हात आ-आफ्नै खल्तीमा लुके । आज म माकुराको बच्चाले बुनेको त्यही जालोभित्र सास फेर्दै छु । गलामा बेरिएको धागो कसैले देख्दैन, तर म प्रत्येक साससँग त्यो कसिँदै गएको महसुस गरिरहेको छु । आखिर यो जंगलमा रुखलाई आँधीले भन्दा आफ्नै ले उम्राएका लहराले छिट्टै ढाल्दा रहेछन्, लालीगुराँस !

लौ त आजलाई बिदा हुन्छु !

तिम्रो माया गर्ने साथी उत्तिस !

Sharing

प्रतिक्रिया दिनुहोस