चैत २५, कालीकोट। कालीकोटको खाँडाचक्र नगरपालिका–२ स्थित मेयर खोला नजिक एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। जुम्लाको हिमा गाउँपालिकाबाट सुर्खेततर्फ जाँदै गरेको हिमा गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा परेको हो।

दुर्घटनामा परी एम्बुलेन्स चालक २६ वर्षीय शक्ति शाही र सोही गाउँपालिकाका ३२ वर्षीय भीमराज अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। घाइते हुनेमा हिमा गाउँपालिकाकै लोकेन्द्र शाही र अक्कल अधिकारी रहेका छन्। उनीहरूको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार बिरामी लिएर सुर्खेत जाँदै गर्दा एम्बुलेन्स दुर्घटनामा परेको हो। एम्बुलेन्समा चालकसहित चार जना सवार रहेका थिए।