असोज २१, मुगु। सिडिएस पार्क मुगुले बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई राहत सहयोग उपलब्ध गराएको छ। प्राकृतिक विपद्का कारण प्रभावित बनेका छायानाथ रारा नगरपालिकाका स्थानीय बासिन्दालाई केही राहत पुगोस् भन्ने उद्देश्यले संस्थाले आवश्यक सहयोग सामग्री उपलब्ध गराएको हो।

बाढी–पहिरोका कारण घर, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीमा क्षति पुगेका पीडित परिवारलाई लक्षित गरी राहत वितरण गरिएको जनाइएको छ। विपद्को समयमा पीडित परिवारलाई तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराउँदै उनीहरूको कठिन अवस्थामा साथ दिने उद्देश्यले सहयोग कार्यक्रम सञ्चालन गरिएको हो।
राहत वितरण कार्यक्रममा सिडिएस पार्कका प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै सिर्डिस पार्क मुगुका कार्यकारी निर्देशक अज बहादुर शाहीका अनुसार विपद्का कारण समस्यामा परेका नागरिकलाई सहयोग गर्नु सामाजिक दायित्व भएको बताएका छन् । आगामी दिनमा पनि आवश्यकता र सम्भावना अनुसार पीडित तथा प्रभावित समुदायलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
स्थानीय बासिन्दाले विपद्को समयमा गरिएको सहयोगले प्रभावित परिवारलाई दैनिक जीवनयापनमा केही सहजता पुग्ने बताएका छन्। उनीहरूले राहत तथा पुनःस्थापनाका लागि स्थानीय तह, सरकारी निकाय, संघसंस्था तथा अन्य सहयोगी पक्षबाट निरन्तर सहयोग आवश्यक रहेको बताएका छन्।
बाढी तथा पहिरोजस्ता प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा राहतसँगै दीर्घकालीन पुनःस्थापना र जोखिम न्यूनीकरणका कार्यक्रमलाई पनि प्राथमिकता दिनुपर्ने आवश्यकता देखिएको छ। प्रभावित परिवारको अवस्था पहिचान गरी आवश्यक सहयोगलाई निरन्तरता दिन सके विपद्पछिको पुनःस्थापनामा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ । मंगलवार गरिएको राहत वितरणमा २० जना लाई एक लाख भन्दा बढि रकम बरावरको राहत सामग्री सहयोग गरिएको बताएका छन्। राहत सामग्रीमा एक प्याक ३० केजि चामल , दाल , तेल , त्रिपाल , साबुन लगायत झण्डै २० प्रकारका राहत सामग्री सहयोग गरिएको सिडिएस पार्क मुगुले जनाएको छ ।