भदौ २२, काठमाडौं । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३५५ जनाको शव फेला परेको छ । भने ४ हजार ९९६ हजार नागरिक अझै सम्पर्कविहीन रहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अद्यावधिक विवरण सार्वजनिक गर्दै खोज, उद्धार तथा राहत कार्यलाई तिव्रस्तरमा अघि बढाइएको जनाएको छ ।

प्राधिकरणका अनुसार फेला परेका १ हजार ३५५ शवमध्ये हालसम्म ९८ जनाको मात्र सनाखत भई परिवारलाई बुझाइएको छ । बाढीले बगाएर ल्याएका शवहरू विभिन्न आठ जिल्लामा फेला परेका छन् । जसअनुसार नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २२१, नुवाकोटमा १९७, चितवनमा १६३, रसुवामा १६९, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ वटा शव फेला परेका हुन् ।
सम्पर्कविहीन हुनेहरूमा नुवाकोट जिल्ला प्रशासनबाट प्राप्त विवरणअनुसार करिब २ हजार ३४० जना, रसुवाबाट १ हजार ९६७ जना, विदेशी नागरिक ५८९ जना तथा सुरक्षाकर्मी र कर्मचारी करिब १०० जना रहेका छन् ।
प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ३९६ जनाको सकुशल उद्धार गरिएको छ ।