• २०८३ बैशाख २४ गते बिहिवार

संजय दत्त र नोरा फतेहीलाई भारतको महिला आयोगले सोध्यो स्पष्टीकरण

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

वैशाख २४, काठमाडौं । बलिवुड अभिनेता संजय दत्त र अभिनेत्री नोरा फतेहीलाई भारतको महिला आयोगले स्पष्टीकरण सोधेको छ । केहि साता अघि रिलिज भएको फिल्म केडी द डेभिलको ‘सरके चुनर’ गीतको विवादका कारण दुवैलाई महिला आयोगले स्पष्टीकरण लिएको हो ।

संजय दत्तपछि विवादित गीतका विषयमा स्पष्टीकरण दिन नोरा फतेही राष्ट्रिय महिला आयोगसमक्ष उपस्थित भएकी छन् । चलचित्र केडी: द डेभिल को गीत ‘सरके चुनर’ सार्वजनिक भएपछि व्यापक आलोचना भएको थियो । त्यसपछि राष्ट्रिय महिला आयोगले नोरा फतेहीलाई उपस्थित हुन निर्देशन दिएको थियो ।

आयोगसमक्ष आफ्नो भनाइ राख्दै नोरा फतेहीले आफू कसैको भावनामा चोट पुर्‍याउने उद्देश्यमा नरहेको बताएकी छन् । उनले कलाकारको हैसियतले आफ्नो जिम्मेवारी स्वीकार गर्दै माफी मागेकी छन् ।

उनले समाजबाट पाएको माया फर्काउनु आफ्नो जिम्मेवारी भएको उल्लेख गर्दै केही अनाथ बालिकाको शिक्षाको खर्च व्यहोर्ने निर्णय गरिएको जानकारी पनि दिएकी छन् ।

यसअघि राष्ट्रिय महिला आयोगले सञ्जय दत्तलाई पनि उपस्थित हुन निर्देशन दिएको थियो । अप्रिल २७ मा भएको उपस्थितिका क्रममा उनले गीतलाई लिएर माफी मागेका थिए । साथै सामाजिक कल्याण र महिला सशक्तीकरणका लागि ५० जना आदिवासी बालिकाको शिक्षाको खर्च व्यहोर्ने प्रतिबद्धता जनाएका थिए । त्यसपछि आयोगले उनलाई राहत दिएको थियो ।

गीत सार्वजनिक भएलगत्तै यसको आलोचना सुरु भएको थियो । त्यसपछि सूचना तथा प्रसारण मन्त्रालय ले उक्त गीतमाथि प्रतिबन्ध लगाएको थियो । गीतमा देखाइएको भल्गर सिन, विवादित शब्दको चौतर्फी विरोध र भारतका विभिन्न स्थानमा एफआइआर हुन थालेपछि गीतलाई हटाइएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस