• २०८३ साउन २१ गते बिहिवार

बंगलादेशमा शाकिब अल हसनको घरमा आक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन २१, काठमाडौं ।   बंगलादेशका पूर्वकप्तान शाकिब अल हसनको मगुरा जिल्लास्थित निवासमा अज्ञात समूहले आक्रमण गरेको छ। आक्रमणकारीहरूले घरमा ढुंगामुढा गर्दा झ्यालका सिसा फुटेका छन्। बंगलादेशमा राजनीतिक तनाव चर्किरहेका बेला यो घटना भएको हो । स्थानीय सञ्चारमाध्यमका अनुसार बुधबार राति करिब ८:४५ बजे मगुरा सहरको केशब मोड क्षेत्रमा रहेको शाकिबको घरमा आक्रमण भएको थियो । घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो र क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। घटनामा भने कुनै मानवीय क्षति भएको छैन ।

आक्रमणका क्रममा घरका धेरै झ्यालका सिसा फुटेका छन् । प्रारम्भिक अनुसन्धानबाट घरको फलामे गेटमा पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरिएको देखिएको छ । यद्यपि, घटनामा पेट्रोल बम प्रयोग भएको प्रमाण भने फेला नपरेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान सुरु गरिएको भए पनि समाचार तयार पार्दासम्म कसैलाई पक्राउ गरिएको छैन ।

बंगलादेशका सर्वकालीन उत्कृष्ट अलराउन्डरमध्ये एक मानिने शाकिब अल हसन आफ्नो राजनीतिक संलग्नताका कारण पनि पछिल्लो समय चर्चामा रहेका छन् । उनी सन् २०२४ को आम निर्वाचनमा अवामी लिगका तर्फबाट मगुरा–१ निर्वाचन क्षेत्रबाट सांसद निर्वाचित भएका थिए । तर विपक्षी दल र आलोचकहरूले उक्त निर्वाचन निष्पक्ष नभएको भन्दै प्रश्न उठाएका थिए ।

पूर्वप्रधानमन्त्री शेख हसिनाको सरकार सत्ताबाट बाहिरिएपछि अवामी लिगमाथि बंगलादेशमा राजनीतिक गतिविधि सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । निर्वासनमा रहेकी शेख हसिनाले बुधबार आयोजित पत्रकार सम्मेलनमा आफ्नो दलमाथिको प्रतिबन्ध हटाउन माग गर्दै यसै वर्षको अन्त्यसम्म बंगलादेश फर्किने इच्छा व्यक्त गरेकी थिइन्। उनीविरुद्ध हाल विभिन्न कानुनी मुद्दा विचाराधीन छन् ।

उक्त पत्रकार सम्मेलनमा शाकिब अल हसन पनि सहभागी भएका थिए । त्यसको केही घण्टापछि नै उनको घरमा आक्रमण भएको हो । त्यसैले यो घटनालाई बंगलादेशको वर्तमान राजनीतिक तनावसँग जोडेर हेरिएको छ । यद्यपि, प्रहरीले आक्रमणको कारणबारे अहिलेसम्म कुनै आधिकारिक पुष्टि गरेको छैन । शेख हसिना नेतृत्वको सरकार पतन भएपछि शाकिब अल हसन बंगलादेश फर्किएका छैनन् । राजनीतिक परिवर्तनपछि उनीविरुद्ध हत्या मुद्दासहित विभिन्न कानुनी मुद्दा दर्ता भएका छन् ।

शाकिबले आफू कानुनी प्रक्रियाको सामना गर्न बंगलादेश फर्किन चाहेको पटक–पटक बताउँदै आएका छन्। तर त्यसका लागि आफ्नो सुरक्षा सुनिश्चित हुनुपर्ने र कुनै उत्पीडन नहुने ग्यारेन्टी आवश्यक रहेको उनको भनाइ छ ।

हाल उनी परिवारसहित अमेरिकामा बस्दै आएका छन् र विश्वका विभिन्न टी–२० क्रिकेट प्रतियोगितामा खेलिरहेका छन्। बंगलादेश क्रिकेट बोर्डले पनि यस वर्ष भविष्यमा उनी राष्ट्रिय टोलीमा पुनरागमन गर्न सक्ने संकेत दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस