• २०८३ असोज ११ गते आइतवार

अमेरिकाले साउदी अरबलाई ५ अर्ब डलरको हतियार बिक्री गर्न स्वीकृति

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ २०, काठमाडौं । अमेरिकाले मध्यपूर्वमा तनाव बढिरहेका बेला साउदी अरबलाई करिब ५ अर्ब अमेरिकी डलर बराबरको बम, लक्ष्य निर्देशन प्रणाली र अन्य सैन्य सामग्री बिक्री गर्ने प्रस्तावलाई स्वीकृति दिएको छ ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार प्रस्तावित बिक्रीले साउदी अरबको हवाई प्रतिरक्षा क्षमता बढाउन, वर्तमान तथा भविष्यका क्षेत्रीय खतराको सामना गर्न, आफ्नो भूभागको सुरक्षा बलियो बनाउन तथा अमेरिकी सेना र खाडी क्षेत्रका अन्य साझेदारले प्रयोग गर्ने प्रणालीसँग सैन्य समन्वय सुधार गर्न सहयोग पुग्नेछ ।

विदेश मन्त्रालयले साउदी अरबलाई करिब ७५ करोड डलर मूल्य बराबरका एजीटी–१५०० इन्जिन बिक्री गर्ने सम्भावित प्रस्तावलाई समेत स्वीकृति दिएको जनाएको छ। यी इन्जिनको मुख्य आपूर्तिकर्ता हनीवेल रहेको मन्त्रालयले जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार प्रस्तावित हतियार बिक्रीले प्रमुख गैर–नाटो सहयोगी राष्ट्रको सुरक्षा सुधार गर्दै अमेरिकाको विदेश नीति र राष्ट्रिय सुरक्षा उद्देश्यलाई समेत सहयोग पुर्‍याउनेछ ।

यस वर्षको सुरुवातमा अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध सुरु गरेपछि इरानी सेना र यमनका हुथी विद्रोहीले साउदी अरबलाई लक्षित गर्दै ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गर्दै आएका छन् ।

अमेरिकी विदेश मन्त्रालयले साउदी अरबलाई बम बिक्री गर्ने प्रस्तावबारे अमेरिकी संसद्लाई जानकारी गराइसकेको छ। प्रस्तावित बिक्री कार्यान्वयनका लागि अमेरिकी सांसदहरूको स्वीकृति आवश्यक हुनेछ ।

यसैबीच अमेरिकाले ओमान र इराकसँग सम्बन्धित दुई छुट्टाछुट्टै सैन्य बिक्री प्रस्तावलाई पनि स्वीकृति दिएको छ। विदेश मन्त्रालयले ओमानलाई एफ–१६ लडाकु विमानको सञ्चालन तथा मर्मतसम्बन्धी सेवा उपलब्ध गराउने करिब १८ करोड ८० लाख डलरको सम्भावित बिक्रीलाई स्वीकृति दिएको जनाएको छ ।

त्यस्तै, इराकलाई बेल–४१२ ईपीएक्स हेलिकोप्टर बिक्री गर्ने करिब १५ करोड डलरको अर्को सम्भावित प्रस्तावलाई पनि अमेरिकाले स्वीकृति दिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस