• २०८३ बैशाख ११ गते शुक्रवार

गोरखा-काठमाडौँ एकीकरण मार्ग पदयात्रा गोरखा दरबारबाट शुभारम्भ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष २१,  काठमाडौँ ।  नेपाली सेनाले ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०८२ विविध कार्यक्रमहरू सहित मनाउने क्रममा नेपाल एकीकरणको दौरान प्रयोग भएको गोरखा-काठमाडौँ एकीकरण मार्ग पदयात्रा कार्यक्रम आज गोरखा दरबारबाट शुभारम्भ भएको छ ।

शुभारम्भ कार्यक्रममा गोरखा जिल्ला न्यायाधीश, जिल्ला समन्वय समितिका प्रमुख, गोरखा नगरपालिकाका प्रमुख, पश्चिम पृतनाका पृतनापति, स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित सरकारी कार्यालय तथा सुरक्षा निकायका प्रमुख/प्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मी, सर्वसाधारण लगायतको उपस्थिति रहेको थियो ।

पदयात्रामा नेपालको राष्ट्रिय झन्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका ५ (पाँच) कम्पनीहरू (श्रीनाथ, कालीबक्स, बर्दवाणी, पुरानो गोरख तथा सबुज) को झन्डा र टर्चसहित गोरखा जिल्लामा तैनाथ श्री रुद्रध्वज गणबाट ऐतिहासिक सैनिक पोसाक तथा परम्परागत बाजागाजासहितको टोली सहभागी रहेको छ । पदयात्रा कार्यक्रम धादिङ, नुवाकोट हुँदै हनुमानढोका पुगेर पौष २७ गते जङ्गी अड्डामा आयोजना हुने विशेष समारोहका बिच समापन हुने नेपाली सेनाले जानकारी दिएको छ ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०८२ को अवसरमा पौष २७ गते जङ्गी अड्डास्थित सभामण्डपमा राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको देन सम्बन्धी प्रवचन, लघु नाटक तथा वृत्तचित्र प्रदर्शनी, कविता प्रतियोगिता लगायतका कार्यक्रमहरू आयोजना हुने नेपाली सेनाले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस