• २०८३ कार्तिक १९ गते बुधवार

नागरिकले प्रहरीसँग भरोसा गरून्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : आईजीपी केसी

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक १८, काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले नागरिकले प्रहरीलाई देख्दा डर नभई भरोसा महसुस गर्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। गृह मन्त्रालयमा आज प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न प्राप्त गरेपछि आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सधैँ सर्वोपरि राख्ने बताउनुभयो।

प्रहरी सङ्गठनको मर्यादा, निष्पक्षता र व्यावसायिकतामा कुनै सम्झौता नगर्ने स्पष्ट पार्दै आईजीपी केसीले संविधान र कानूनप्रति अविचलित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। ‘आजैदेखि हामी सबै मिलेर कर्तव्यबाट सेवा प्रवाहसम्मको यात्रा सुरु गरौँ, जहाँ नागरिकले प्रहरी देख्दा डर होइन, भरोसा महसुस गरून्, प्रत्येक प्रहरीले आफ्नो बर्दीमा गर्व गर्न सकोस्,’ उहाँले भन्नुभयो।

प्रहरी कर्मचारीका समस्या र गुनासो सम्बोधन गर्न आफ्नै सचिवालयमा तत्काल उच्चस्तरीय संयन्त्र स्थापना गर्ने घोषणा पनि उहाँले गर्नुभयो। आधारभूत तहमा कार्यरत प्रहरी कर्मचारीदेखि सङ्गठनका सबै तहका कर्मचारीका समस्या सुन्ने उहाँको भनाइ छ।

सीमित स्रोतसाधन, भौतिक पूर्वाधारको अभाव, लामो कार्यघण्टा, सरुवा तथा बढुवामा निष्पक्षता र प्रहरी कर्मचारीको मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो।

त्यसैगरी प्रहरी सङ्गठनलाई प्रभावकारी र व्यावसायिक बनाउन आवश्यक स्रोतसाधन, कानूनी स्पष्टता तथा कार्यगत स्वायत्तताका लागि सरकारसँग आग्रह गर्नुभयो।

प्रहरी सङ्गठनलाई दलीय प्रभावबाट मुक्त राख्न राजनीतिक दलहरूको सहयोग आवश्यक रहेको उल्लेख गर्दै आईजीपी केसीले निष्पक्ष, जवाफदेही र नागरिकमैत्री प्रहरी सेवा आफ्नो प्राथमिकता हुने सन्देश दिनुभएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस