• २०८३ भाद्र १९ गते शुक्रवार

‘चौलानी नदी पहिरोले थुनियो, तल्लो तटीय बस्तीमा बाढीको जोखिम

लोकराज जोशी पढ्न लाग्ने समय : १ मिनेट

भदौ १९, दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टार क्षेत्रमा ठूलो पहिरो खस्दा चौलानी नदी आंशिक रूपमा थुनिएको छ। माथिबाट पहिरो खस्ने क्रम अझै जारी रहेकाले नदी पूर्ण रूपमा थुनिन सक्ने जोखिम बढेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। नदी थुनिएर पानी जम्मा हुने र त्यसपछि बनेको जलाशय अचानक फुटेमा चौलानी नदीको तल्लो तटीय क्षेत्रमा एक्कासि पानीको बहाव बढ्न सक्ने जोखिम रहेको प्रशासनले जनाएको छ। यसका कारण दार्चुलासँगै बैतडी–दार्चुला सीमाबाट बग्ने चमेलिया नदी आसपासका बस्तीसमेत प्रभावित हुन सक्ने सम्भावना छ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले चौलानी नदी आसपास तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। वर्षाका बेला नदी किनारमा नजान तथा सम्भावित जोखिम देखिए सुरक्षित स्थानतर्फ जान प्रशासनले अनुरोध गरेको छ। यसैबीच, पहिरोका कारण जोखिममा परेको भट्टार क्षेत्रका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको जानकारीसमेत आएको छ। पहिरोका कारण सडक तथा पदमार्गमा समेत क्षति पुगेको जनाइएको छ।

प्रशासनले नदीको अवस्था निरन्तर अनुगमन भइरहेको जनाएको छ भने सम्भावित विपद्का बेला उद्धार तथा सहयोगका लागि सम्बन्धित सुरक्षा निकायमा सम्पर्क गर्न आग्रह गरेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस