जेठ २१, काठमाडौँ । माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडले साधारण सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी असार ३ गतेदेखि १४ लाख २७ हजार ६ सय कित्ता सेयर निष्कासन गर्न लागेको हो । प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको यो आईपीओको प्रारम्भिक बन्द मिति असार ८ गते तोकिएको छ । तर पूर्ण आवेदन नपरेमा यो अवधि असार १७ गतेसम्म बढाइनेछ ।

कम्पनीको जारी पुँजी ८६ करोड रुपैयाँ रहेको छ । यसको ३० प्रतिशत अर्थात २५ लाख ८० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको हो ।
यसअन्तर्गत १० प्रतिशत अर्थात ८ लाख ६० हजार कित्ता सेयर सोलुखुम्बु जिल्लाका आयोजना प्रभावित स्थानीयका लागि वितरण भइसकेको छ । बाँकी २० प्रतिशतमध्ये १० प्रतिशत अर्थात १ लाख ७२ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ ।
त्यस्तै, कुल निष्कासनको २ प्रतिशत अर्थात ३४ हजार ४ सय कित्ता कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ८६ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । अब बाँकी १४ लाख २७ हजार ६ सय कित्ता सेयर सामान्य सर्वसाधारणका लागि निष्कासन गरिने भएको हो ।
यस आईपीओका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक तोकिएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
क्रेडिट रेटिङ नेपाल लिमिटेडले कम्पनीको दीर्घकालीन तथा बैंक सुविधालाई ‘सीएआरई एनपी बीबी प्लस’ र अल्पकालीन बैंक सुविधालाई ‘सीएआरई एनपी ए फोर प्लस’ रेटिङ दिएको छ, जसले मध्यम जोखिम जनाउँछ ।
माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेड सन् २०१४ नोभेम्बर १६ मा स्थापना भएको सार्वजनिक लिमिटेड कम्पनी हो । यसले सोलुखुम्बु जिल्लामा १२ मेगावाट क्षमताको दूधकुण्ड खोला जलविद्युत् आयोजना सन् २०२४ जुलाई ३१ देखि सञ्चालन गर्दै आएको छ ।