जीवनमा कहिलेकाहीँ एउटा ढोका बन्द हुँदा अर्को ढोका खुल्छ भनिन्छ । तर बन्द भएको ढोकापछाडि अर्को सम्भावना देख्न सक्ने आँखा र त्यसतर्फ अघि बढ्न हौसला दिने मन सबैसँग हुँदैन । श्रीमान्–श्रीमतीको सम्बन्धमा विश्वास, त्याग र साथको महत्त्व बुझाउने एउटा प्रेरणादायी कथा अमेरिकी साहित्यकार नाथानिएल हर्थर्न र उनकी श्रीमती सोफिया पिबडीको जीवनसँग जोडिएको छ । वास्तवमा मानिसको जीवन के हो र कसरी जीवनलाई अगाडि बढाउने भन्ने कुराको प्रेरणाको पात्र कोहि न कोहि हुन्छ नै । नाथानिएल हर्थर्न पनि अमेरिकाका चर्चित साहित्यकार थिए । उनी सरकारी जागिरमा कार्यरत थिए । साहित्यप्रति गहिरो रुचि भए पनि पारिवारिक जिम्मेवारीका कारण उनी जागिरमा निर्भर थिए । उनको जीवन सामान्य गतिमा चलिरहेको थियो। तर एक दिन परिस्थितिले अचानक कोल्टे फेर्यो । राजनीतिक परिवर्तनका कारण उनले सन् १८४९ मा सरकारी जागिर गुमाए ।

जागिर गुमाउनु उनका लागि केवल आम्दानीको स्रोत बन्द हुनु थिएन, त्यो त भविष्य प्रतिको भरोसा हल्लिनु पनि थियो । परिवार कसरी पाल्ने ? घरखर्च कसरी चलाउने ? छोराछोरीको भविष्य के हुने ? यस्ता प्रश्नले उनको मन भारी बनायो ।
उनी निराश मन लिएर घर फर्किए । अब के गर्ने भन्ने चिन्ता अनुहारमा प्रस्ट देखिन्थ्यो । श्रीमती सोफिया ले उनको अवस्था बुझिन् र जागिर गुमाएको खबर सुनिन् ।
तर सोफिया आत्तिइनन् । उनले श्रीमानलाई सान्त्वना दिँदै भनिन्, ‘अब त तपाईंले आफ्नो पुस्तक लेख्न सक्नुहुन्छ !’
श्रीमतीको यस्तो प्रतिक्रिया सुनेर नाथानिएल छक्क परे । जागिर गुमेको बेला खुसी हुनुपर्ने कारण के थियो र ? घर चलाउन पैसा चाहिन्छ, साहित्य लेखेर तत्कालै आम्दानी हुन्छ भन्ने निश्चित पनि थिएन ।
जीवनमा श्रीमान् सफल हुँदा श्रीमतीको योगदान देख्न नसक्नेहरू धेरै हुन्छन्। तर असफलताको भयले श्रीमान् थलिएका बेला हात समातेर उठाउने श्रीमती नै वास्तविक जीवनसाथी हुन् । त्यस्तै, श्रीमती कठिनाइमा पर्दा काँध थाप्ने श्रीमान् पनि असल जीवनसाथी हुन् ।
उनले चिन्तित हुँदै पैसाको कुरा गरे ।
त्यसपछि सोफिया ले आफूले घर खर्चबाट बचाएर राखेको रकम देखाइन् । श्रीमानले दिएको तलबबाट उनले थोरै थोरै बचत गरेकी थिइन् । त्यो रकम तत्कालको संकट सामना गर्न र नाथानिएललाई केही समय ढुक्क भएर लेख्न सहयोग गर्न पर्याप्त थियो । उनले घरखर्च धान्न हातले बनाएका सजावटी बत्तीका खोलहरू बेचेर पनि आम्दानी गरिन् ।
यो केवल पैसाको बचत थिएन, श्रीमानको प्रतिभा प्रतिको विश्वास थियो ।
सोफियाको हौसला पाएपछि नाथानिएलले लेखनलाई निरन्तरता दिए । उनले आफ्नो जीवनको कठिन समय, मानवीय संवेदना र समाजका जटिल पक्षलाई साहित्यमा उतार्न थाले । अन्ततः सन् १८५० मा उनको चर्चित उपन्यास द स्कार्लेट लेटर प्रकाशित भयो । यो कृति अमेरिकी साहित्यको महत्त्वपूर्ण उपन्यासमध्ये एक बन्यो र आज पनि विश्वभर अध्ययन गरिन्छ ।
सोच्नुहोस् त, जागिर गुमाउँदा निराश बनेका ती व्यक्ति श्रीमतीको विश्वास र सहयोग पाएपछि विश्वसाहित्यमा अमिट छाप छोड्ने लेखक बने । उनको प्रतिभा पहिल्यै थियो, तर कठिन परिस्थितिमा त्यसलाई प्रस्फुटित हुन सहयोग गर्ने वातावरण र साथ पनि उत्तिकै महत्त्वपूर्ण बने ।
आखिर श्रीमती सोफियाले के दिएकी थिइन् ? केही बचत, केही सान्त्वना र अथाह विश्वास! तर त्यसको मूल्य पैसाले नाप्न सकिँदैन ।
जीवनमा श्रीमान् सफल हुँदा श्रीमतीको योगदान देख्न नसक्नेहरू धेरै हुन्छन्। तर असफलताको भयले श्रीमान् थलिएका बेला हात समातेर उठाउने श्रीमती नै वास्तविक जीवनसाथी हुन् । त्यस्तै, श्रीमती कठिनाइमा पर्दा काँध थाप्ने श्रीमान् पनि असल जीवनसाथी हुन् ।
सम्बन्धको वास्तविक परीक्षा सुखमा होइन, दुःखमा हुन्छ । पैसा सकिँदा, जागिर जाँदा र भविष्य अन्धकार देखिँदा पनि एक अर्काप्रतिको विश्वास नटुट्नु नै वैवाहिक जीवनको सबैभन्दा ठूलो सम्पत्ति हो । घर बनाउने इँटा र सिमेन्टले हो, तर जीवन बनाउने विश्वास, त्याग र प्रेमले हो ।
कहिलेकाहीँ सफलताको शिखरमा पुग्ने व्यक्तिको पछाडि त्यस्तो जीवनसाथी उभिएको हुन्छ, जसको नाम इतिहासका पानामा नलेखिए पनि उसको योगदानबिना त्यो इतिहास अधुरो रहन सक्छ ।
नाथानिएल हर्थर्नको कथाले हामीलाई यही सन्देश दिन्छ—जीवनसाथी भनेको सुखमा रमाउने साथी मात्र होइन, जीवनले दुख देखाउन खोज्दा राम्रो पाठ सिकाउने सबैभन्दा भरपर्दो सहयात्री पनि हो ।