भदौ १७, धनगढी । सुदूरपश्चिमेलीहरूको प्रमुख तथा महान् पर्वका रूपमा मनाइने गौरा पर्व आजदेखि विधिवत् रूपमा सुरु भएको छ। गौरा पर्वको पहिलो दिन आज ‘नोलाइ गोरा’ पूजा गरी सम्पन्न गरिएको छ। सुदूरपश्चिमका विभिन्न जिल्लासहित देश तथा विदेशमा रहेका सुदूरपश्चिमेलीहरूले आ–आफ्नो परम्परा र संस्कृतिअनुसार गौरा पर्व मनाउन सुरु गरेका छन्।

गौरा पर्वमा विशेषगरी महिला तथा पुरुषहरूले व्रत बस्ने, गौराको पूजा गर्ने तथा धार्मिक एवं सांस्कृतिक विधिहरू पूरा गर्ने चलन रहेको छ। पर्वका क्रममा गौरा र महेश्वरको पूजा, देउडा खेल तथा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ।
सुदूरपश्चिमको मौलिक पहिचान र संस्कृति बोकेको गौरा पर्वले पारिवारिक एकता, आपसी सद्भाव र सामाजिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिन्छ। पछिल्लो समय सुदूरपश्चिममा मात्र नभई काठमाडौंलगायत देशका विभिन्न स्थानमा समेत गौरा पर्व विशेष उत्साहका साथ मनाउने गरिएको छ।