भदौ १७, काठमाडौं । नेपाली सेनाले बाढीपहिरो प्रभावित क्षेत्रमा हवाई तथा जमिनी खोज–उद्धार, राहत तथा स्वास्थ्य सेवा कार्यलाई तीव्र बनाएको छ । मंगलबार साँझ ७ बजेसम्म नेपाली सेनाले हेलिकप्टरमार्फत एक बेलायती नागरिकसहित ११९ जनाको उद्धार गरेको छ । हालसम्म हवाई माध्यमबाट २७३ जना विदेशी नागरिकसहित ३ हजार ८९१ जनाको उद्धार गरिएको सेनाले जनाएको छ ।

सेनाका अनुसार धुन्चे, कोलोनी, बेत्रावती र त्रिशूली–३एमा गरी २ हजार ५ सय केजी राहत सामग्री हवाई माध्यमबाट ढुवानी गरिएको छ । चिलिमे हाइड्रोमा विदेशीसहित २६ जनाको संयुक्त खोज तथा उद्धार टोली टनेलभित्र करिब १५० मिटर प्रवेश गरे पनि त्यसपछि भिरालो भाग सुरु भएको र टनेल पूर्ण रूपमा पुरिएको अवस्थामा फेला परेको सेनाले जनाएको छ ।
त्यस्तै, अपर त्रिशूली–१ को हाँकूमा संयुक्त टोली करिब १६० मिटरभित्र पुगेपछि टनेल टालिएको अवस्थामा फेला परेको सेनाले जनाएको छ ।
त्रिशूली–३एमा टनेल हेड पहिचान गरी तीन वटा एक्स्काभेटरमार्फत माटो हटाउने काम भइरहेको छ। कम्प्रेसर र रक ब्रेकर प्रयोग गरी इनलेट टनेलमा बनाइएको होलबाट अत्यधिक पानी आएको र उक्त स्थानबाट प्रवेश गर्न असम्भव देखिएपछि आउटलेटतर्फबाट पुनः होल पार्ने काम जारी छ ।