असार १८, काठमाडौं । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरुलाई डिजिटल प्लेटफर्म बारे अभिमुखीकरण गर्ने भएको छ । रास्वपा प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार रास्वपालाई डिजिटल बनाउँदै लैजाने प्रकृयाअन्तर्गत निर्माण भएको प्लसआरएसपी नामक सिस्टमबारे प्रतिनिधि सभा सदस्यहरुलाई जानकारी दिने र साइबर सुरक्षासम्बन्धी सचेतना समेत दिनेगरी सभापति रवि लामिछानेको उपस्थितिमा शुक्रबार संसदीय दलको कार्यालय सिंहदरवारमा अभिमुखीकरण कार्यक्रम हुने भएको हो । बैठकलगत्तै हरेक सांसदले आफ्ना गतिविधि अनिवार्य सिस्टममा अपडेट गराउनुपर्ने, एकअर्कासँग भेटघाटका लागि अनलाइनबाटै समय माग गर्न सकिने, संसदमा बोल्ने विषयवस्तु समेत सोही सिस्टममा अपडेट हुनुपर्ने, निर्वाचन क्षेत्रमा भएका भ्रमण, भेटघाटजस्ता कार्यक्रमको जानकारी समते सोही पोर्टलमा गराउनुपर्ने, नागरिकले सम्बन्धित निर्वाचन क्षेत्रका सांसदसँग त्यही माध्यमबाट गुनासा राख्न सक्ने र त्यसको ट्रयाकिङ हुने र त्यसकै आधारमा सांसदको कार्यसम्पादन मूल्याङ्कन हुने जस्ता फिचरहरु रहेको बुर्लाकोटीले जानकारी दिएका छन् । कार्यक्रम बिहान साढे १० बजेदेखि शुरु हुने उनले बताए ।
२- शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अब एन्फामा राजनीतिक हस्तक्षेप हुन नदिने बताएका छन् । एन्फालाई फिफाले गरेको निलम्बन बारे सोधिएको प्रश्नको जवाफ दिदै मन्त्रीले एन्फामा विगतमा राजनीतिक हस्तक्षेप र भ्रस्टाचार भएको भन्दै अब त्यसो हुन नदिने बताएका हुन् । उनले फिफाले निलम्बन गर्दा दुख लागेको भएपनि अहिले नेपाली फुटबल यो भन्दा ताल जाने ठाउनै नभएकाले बोल्ड स्टेप लिएर एन्फा सुधार्ने बताए । उनले भने- ‘अब बन्ने एन्फामा जसले फुटबलमा योगदान गरेका छन्, त्यस्ता व्यक्तिलाई ल्याएर एन्फा बनाउछौं । यो भन्दा तल जाने ठाउ नै छैन, अहिले फिफाले निलम्बन गर्दा दुख त लागेको छ । अब तल कति जान्छ र , अब हामीले केहि बोल्ड स्टेप लिन्छौं । तर अब यसलाई हामीले माथि उचाल्छौँ, सुधार्छौँ । एन्फालाई राजनीतिक अखडा हुन थोरै पनि दिदैनौं । भ्रष्टाचार हुन दिदैनौं ।’ मन्त्री पोखरेलले अहिलेसम्म बारम्बार सरकारबाट एन्फामा हस्तक्षेप भएको बताउदै एन्फामा भ्रष्टाचार भएको उजुरी परेको र राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्षको नेतृत्वमा छानबिन समेत गठन गरेको समेत जानकारी दिएका छन् । उनले छानबिनको रिपोर्ट आउने बित्तिकै फिफासहितका सम्बन्धित निकायमा पठाउने बताउदै अहिलेको सरकारले हस्तक्षेप गरेर फिफाले एन्फालाई निलम्बन नगरेको दाबि गरे । एन्फाका पदाधिकारीले विश्वकप हेर्न जान नदिएको गुनासो गरेको विषयमा मन्त्री पोखरेलले विश्वकपमा एन्फाको पदाधिकारी नेपाली फुटबलले केहि न केहि आशा देखाउने काम गरेपछि मात्र जानु पर्ने बताए । उनले भने- ‘नेपालले विश्वकप नै खेल्नुपर्छ भन्ने छैन, कुनै न कुनै आशा त देखाउनुपर्यो नि त । लोकल डिभिजनको केहि खेल भएको छैन । भ्रष्टाचार धेरै भएको भनेर प्रश्न उठेको छ । नेपालको फुटबल अहिलेसम्म विकास हुन सकेको छैन । यो भन्दा तल नेपाल फुटबल जाने ठाउ नै छैन ।’ उनले सरकारले फिफा र एएफसीसँग कुरा गरेको र उनीहरुलाई वार्तामा बोलाएको समेत बताएका छन् । उनले भने- ‘हामीले अगाडी कसरी बढ्ने भनेर विभिन्न विज्ञहरुसँग छलफल पनि गरिरहेको छु । फिफासँग हाम्रो अन्तरक्रिया शुरु भइसकेको छ । हामीले फिफा र एएसीका पदाधिकारीलाई बार्तामा बोलाएका छौं । उहाँहरु आउनुभयो भने कुरा भैहाल्छ ।’ उनले नेपालको फुटबलप्रति सरकार सम्बेदनशील रहेको बताउदै नेपालको फुटबललाई जसरी पनि माथि उठाउने अठोट रहेको र अब बन्ने एन्फामा राजनीतिक रुपमा हैन, फुटबलमा योगदान गरेका व्यक्तिहरुलाई ल्याउने बताए ।
३- । सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट खारेज गरेको छ । विहिबार सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले पौडेलकी पत्नी दोमायाले दायर गरेको रिट खारेज गरेको हो । योसँगै पौडेल तत्काल नछुट्ने भएका छन् । पौडेललाई आजै मात्र विशेष अदालतले थप ६ दिन म्याद थप गरेको छ । यसअघि यहि असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेललाई विशेष अदालतले यसअघि सात दिन र असर १५ गते तीन दिनको म्याद थप गरेको थियो ।
४- नेपालमा जुन महिनामा विदेशी पर्यटकको अगामन ९१ हजार रहेको छ । गत बर्षको जुनमा नेपाल आउने विदेशी पर्यटकको संख्या ७६ हजार ४२५ रहेकोमा यस बर्षको जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ । यस बर्षको जुनमा कुल ९१ हजार ३६३ विदेशी पर्यटक आएका छन् । कोभिड शुरु हुनु अघि २०१९ को जुनमा यो संख्या ७४ हजार ८८३ रहेको थियो । जुन महिनामा नेपाल आउने विदेशी पर्यटकमा सबै भन्दा बढी भारतबाट नेपाल आएका छन् । भारतबाट जुनमा ४१ हजार ८०९ जना अर्थात ४५.७६ प्रतिशत पर्यटक नेपाल आएका छन् । त्यस्तै जुनमा अमेरिकाबाट दोस्रो धेरै ११ हजार ८३६ पर्यटक नेपाल आएको बोर्डले जानकारी दिएको छ । त्यसैगरी चीनबाट ९ हजार ९९५, बंगलादेशबाट ४ हजार ३२२ जना, अस्ट्रेलियाबाट २ हजार ८९६ जना, बेलायतबाट २५ सय जना र मलेसियाबाट १५९८ पर्यटक जुन महिनामा नेपाल आएका छन् । पर्यटन बोर्डका अनुसार सार्क देशबाट कुल ४८ हजार २५४, एशियाका अन्य देशबाट १६ हजार १५२ जना, युरोपबाट ६ हजार ९५४ जना, अमेरिका क्षेत्रबाट १३ हजार ११९ जना, ओसिनियाबाट ३ हजार ९० जना जुन महिनामा नेपाल आएका छन् ।
५- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानकी प्रधानमन्त्री सानाए ताकाइचीबीच शिखर भेटवार्तापछि दुवै नेताले संयुक्त पत्रकार सम्मेलनमार्फत द्विपक्षीय सहकार्यलाई थप विस्तार गर्ने घोषणा गरेका छन् । यस क्रममा प्रधानमन्त्री मोदीले ताकाइचीलाई आफ्नो ‘बहिनी’ भन्दै स्वागत गरेका छन् । मोदीले ताकाइचीको यो भारतको पहिलो भ्रमण भएको उल्लेख गर्दै जापानकी पहिलो महिला प्रधानमन्त्रीको स्वागत गर्न पाउँदा खुशी लागेको बताए । उनले भारत र जापानबीच आर्थिक सुरक्षालाई सुदृढ बनाउन संयुक्त मार्गचित्र तयार भएको जानकारी दिए । उनका अनुसार सेमिकन्डक्टर, क्वान्टम प्रविधि, उन्नत सामग्री तथा आपूर्ति शृङ्खलालाई मजबुत बनाउने विषयमा दुवै देशबीच सहकार्य हुनेछ भने भारत-जापान बायोग्यास पहलअन्तर्गत भारतभर एक हजार बायोग्यास तथा जैविक मल उत्पादन केन्द्र स्थापना गरिने घोषणा गरिएको छ । यसबाट गोबरधन योजना, ग्रामीण अर्थतन्त्र र रोजगारी प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । दुवै देशले ब्याट्री, हरित हाइड्रोजन, आणविक ऊर्जा, रक्षा, लगानी, अनुसन्धान, नवप्रवर्तन तथा हिन्द-प्रशान्त क्षेत्रीय सहकार्य विस्तार गर्ने विषयमा पनि सहमति जनाएका छन्। मोदीले आगामी वर्ष भारत र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पूरा हुने अवसरलाई विशेष रूपमा मनाइने बताए । जापानकी प्रधानमन्त्री ताकाइचीले भारत र जापान एसियाका दुई ठूला लोकतान्त्रिक शक्ति भएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय कानुनको सम्मान, शान्ति र स्थिरताको पक्षमा दुवै देश मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले धम्की, दबाब वा बल प्रयोग गरेर परिस्थिति परिवर्तन गर्ने कुनै पनि प्रयासको संयुक्त रूपमा विरोध गरिने बताइन् । ताकाइचीले संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीले आफूलाई ‘बहिनी’ भनेर सम्बोधन गरेको उल्लेख गर्दै दुवै नेताले भाइबहिनीको सम्बन्धजस्तै आत्मीयताका साथ दुई देशबीचको सम्बन्धलाई अघि बढाउने सहमति गरेको बताइन् ।
६- सरकारले शिक्षा दसौँ संशोधन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । विहिबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारले शिक्षा दसौँ संशोधन नियमावली २०८३ स्वीकृत गर्ने निर्णयसहित विभिन्न निर्णय गरेको छ । त्यस्तै अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने, एग्रिमेन्ट अन्डर द युनाइटेड नेसन कन्भेन्सन अन द ल अफ द सी अन द कन्जर्भेसन एण्ड सस्टेनेबल युज अफ मरिन बायोलोजिकल डाइभर्सिटी अफ एरियाज बियोन्ड नेसनल जुरिसडिक्सन (बीबीएन्जी)लाई अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ । त्यसैगरी नेपाल प्रहरीमा कार्यरत ८ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई सरुवा गर्ने, विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धर्मराज खड्का (धनकुटा) लाई नियुक्ति गर्ने, गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मत बहादुर रावल (कैलाली) लाई नियुक्ति र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा देवराज ढुङ्गाना (मोरङ) लाई नियुक्ति गर्ने निर्णय गरको छ । त्यसैगरी राष्ट्रिय सदाचार नीति २०८३ स्वीकृत गर्ने, राष्ट्रिय विज्ञापन नीति २०८३ स्वीकृत गर्ने र कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।
७- नेप्से आज पनि बढेको छ । आज विहिबार नेप्से ८.७८ अंकले बढेर २६६१.७१ विन्दुमा पुगेर रोकिएको छ । आज ३५९ कम्पनिका ८९ लाख ६४ हजार २२३ कित्ता शेयर ४ अर्ब ११ करोड ७७ लाख ८५ हजार ७०० मा कारोबार भएको थियो । आज विकास बैंक, होटल्स, हाइड्रो, लगानी, उत्पादन, निर्जीव वीमा, अन्य ट्रेडिङ बाहेक अन्य क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी लोहोरे खोला हाइड्रो र कलंगा हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने स्नो रिभरको शेयर १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एनआइसी एशिया डिभेन्चरको शेयर १०.६० प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी लक्ष्मी सनराइज बैंकको ४१ करोड ३२ लाख बराबरको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको २५ करोड २९ लाख बराबरको कारोबार भएको छ ।
८- प्रतिनिधि सभाबाट सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ पारित भएको छ । विहिबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पारित गर्न प्रस्तुत गरेको सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ बहुमतले पारित भएको हो । यसअघि अर्थमन्त्री वाग्लेले विधेयकको संशोधनमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै नेपाललाई ग्रे लिष्टबाट छिटो भन्दा छिटो बाहिर निकाल्न यस विधेयकमा हतारमा संशोधन गर्नुपरेको बताएका थिए ।
९- दैलेखको चामुण्डा बिन्द्रासैनी- ७ अन्तर्गत साङ्गेतरा स्थित कर्णाली राजमार्गमा सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख १०५५ नम्बरको फोर्स गाडी कर्णाली नदीमा खसेको छ । गाडी चालक सुर्खेत पञ्चपुरी न.पा. ८ निवासी अन्दाजी २८ वर्षीय तुलाराम सुवेदी हुन् । गाडीमा चालकसहित पाँच जना सवार रहेको भन्ने बुझिएको छ । गाडी सडकबाट करिब ४०० मिटर तल खसेर कर्णाली नदीमा डुबेको छ । घटनास्थलबाट एक जना पुरुषलाई फेला पारी सडकतर्फ ल्याउने कार्य भइरहेको छ।
१०- गुल्मीको कालिगण्डकी गाउँपालिकामा रासायनिक मल वितरणमा कालोबजारी भएको पाइएको छ । जिल्लामा रहेको नव प्रगतिशील कृषि सहकारी संस्थाका सचिव प्रेम नारायण पाण्डेले सरकारको अनुदान रासायनिक मल सहकारी मार्फत नभई निजी पसल मार्फत बढी मूल्यमा बिक्रि गरेको पाइएको छ । रासायनिक मल वितरणमा हुने अनियमितता रोक्न सञ्चालनमा ल्याएको गुनासो हटलाइन नम्बरमा प्राप्त सूचनाका आधारमा स्थानीय प्रशासनले छापा मार्दा रासायनिक मल वितरणमा अनियमितता भएको फेला परेको हो । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले जारी गर्नुभएको रासायनिक मल गुनासो हाटलाइन ९७०००९९११३ नम्बरमा आएको गुनासोका आधारमा स्थानीय प्रशासानले छापा हान्दा मल बिक्रि वितरणमा अनियमिता गरेको जानकारी पाइएको हो । सहकारीले कृषि सामग्री कम्पनी लिमिटेड, भैरहवाबाट असार १५ गते भएको सम्झौताअनुसार ५३५ बोरा युरिया र १७१ बोरा डीएपी मल ल्याउनुपर्ने थियो । हालसम्म ६०१ बोरा मल लगिसकेको र १०५ बोरा युरिया आउन बाँकी रहेको दाबी थियो । तर, सहकारीमार्फत वितरण गर्नुपर्ने उक्त मल सहकारीको कार्यालयबाट नभई निजी पसलमा राखेर बिक्री गरिरहेको पाइएको थियो । कालिगण्डकी गाउँपालिकामा वडा नं. १ हर्मिचौरमा नीलकण्ठ पाण्डेको पसल, कालिगण्डकी गाउँपालिकामा वडा नं. २ अर्बेनीमा कमलप्रसाद न्यौपाने र उमापति न्यौपानेका किराना पसल तथा कालिगण्डकी गाउँपालिकामा वडा नं. ४ मा निरमाया बुढाले सञ्चालन गरेको स्टेशनरी पसल अगाडि मल बिक्री गरिएको पाइएको प्रहरीले जनाएको छ । यसका साथै, मल बिक्री गर्दा उपभोक्तालाई रसिद नदिएको तथा खरिदकर्ताको अभिलेखसमेत नराखेको पाइएको छ । यसबारे थप छानबिन भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
११- शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग, स्टेम शिक्षा तथा नर्सिङ-जनस्वास्थ्य क्षेत्रका चार जना विज्ञलाई सदस्यका रूपमा मनोनयन गरेको छ । मन्त्रालयले आईटी तथा डिजिटल नीति विज्ञ डा. अमृता शर्मा, नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्र राज पाण्डे, स्टेम शिक्षा विज्ञ डा. दिपेश्वर मान श्रेष्ठ र नर्सिङ तथा जनस्वास्थ्य क्षेत्रकी विज्ञ प्रमिला रानालाई काउन्सिल सदस्यमा नियुक्त गरेको हो । सिटिइभिटिको एकेडेमिक काउन्सिल परिषद्को शैक्षिक तथा प्राज्ञिक नेतृत्व गर्ने प्रमुख निकाय हो । यसले पाठ्यक्रम विकास, नयाँ कार्यक्रमको स्वीकृति, शैक्षिक गुणस्तर सुनिश्चितता, मूल्याङ्कन प्रणाली तथा प्राविधिक एवं व्यावसायिक शिक्षाको दीर्घकालीन नीतिगत दिशानिर्देशनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
१२- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने ८४ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश प्रदेशमा ३ जना, गण्डकीमा २ जना तथा बागमती र सुदूरपश्चिममा एक एक जनाको मृत्यु भएको छ । त्यस्तै देशभर भएका दुर्घटनामा ८४ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३० जना घाइते भएका छन् भने काठमाडौँमा १२ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २३ जना घाइते भएका छन् । त्यस्तै लुम्बिनीमा ८ जना घाइते भएका छन् भने काठमाडौँ बाहेक बागमतीमा ७ जना र सुदूरपश्चिममा ४ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
१३- रूसले युक्रेनको राजधानी किभमा फेरि ठूलो स्तरको ड्रोन र क्षेप्यास्त्र आक्रमण गर्दा कम्तीमा १० जनाको मृत्यु भएको छ । बुधबार राति गरिएको आक्रमणमा अन्य धेरै मानिस घाइते भएका युक्रेनी अधिकारीहरूले जनाएका छन् । आक्रमणपछि शहरका विभिन्न क्षेत्र खाली गराइएको थियो भने शक्तिशाली विस्फोटका कारण राजधानीका धेरै भवनहरू हल्लिएका थिए । यो आक्रमण युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले ठूलो स्तरको आक्रमणको तयारी गरिरहेको चेतावनी दिएको केही घण्टापछि भएको हो ।किभ सैन्य प्रशासनका प्रमुख तिमुर तकाचेन्कोका अनुसार मृतक तथा घाइतेको संख्या उल्लेखनीय रहेको छ । उनका अनुसार पीडितमध्ये बालबालिका पनि छन् । उनले रूसले जानाजानी आवासीय क्षेत्रलाई निशाना बनाउँदै सर्वसाधारणको ज्यान लिइरहेको आरोप लगाए । यता, रूसको रक्षा मन्त्रालयले भने हालै युक्रेनले गरेका आक्रमणको जवाफस्वरूप ऊर्जा पूर्वाधारलाई लक्षित गरी आक्रमण गरिएको दाबी गरेको छ ।
१४- फिफा विश्वकप फुटबलको समूह चरणका खेलहरूका क्रममा खेलाडी, टोली र खेल अधिकारीलाई लक्षित गर्दै सामाजिक सञ्जालमा गरिएका अपमानजनक तथा आपत्तिजनक सामग्रीमा उल्लेख्य वृद्धि भएको फिफाले जनाएको छ । फिफाले सार्वजनिक गरेको विवरणअनुसार समूह चरणमा मात्रै ८९ हजार आपत्तिजनक सामाजिक सञ्जाल पोस्ट पहिचान गरिएको छ । यो संख्या सन् २०२२ मा कतारमा भएको विश्वकपको तुलनामा १३ गुणा बढी हो । फिफाको सामाजिक सञ्जाल सुरक्षा सेवाले प्रतियोगिताका क्रममा ६० लाखभन्दा बढी पोस्ट र टिप्पणीको विश्लेषण गरेको थियो । यो सन् २०२२ को विश्वकपको तुलनामा ३३ प्रतिशत बढी हो । विश्लेषण गरिएका सामग्रीमध्ये ११ प्रतिशत जातीय दुर्व्यवहारसँग सम्बन्धित रहेको फिफाले जनाएको छ । समूह चरणमा जातीय विभेद र भेदभावपूर्ण टिप्पणीको अनुपात अघिल्लो विश्वकपको तुलनामा तीन प्रतिशतले बढेको पनि फिफाले उल्लेख गरेको छ । फिफाका अनुसार सामाजिक सञ्जाल सुरक्षा सेवा प्रतियोगितामा सहभागी सबै टोली, खेलाडी, प्रशिक्षक र खेल अधिकारीलाई जातीय दुर्व्यवहार, भेदभावपूर्ण अभिव्यक्ति तथा धम्कीपूर्ण सन्देशबाट जोगाउन सञ्चालन गरिएको हो । अत्याधुनिक प्रविधि र मानवीय निगरानीको संयोजनबाट आपत्तिजनक सामग्री पहिचान गरी फिल्टर तथा अवरुद्ध गर्ने व्यवस्था गरिएको छ । यसले खेलाडीका अनुयायीलाई पनि यस्ता सामग्रीबाट सुरक्षित राख्ने काम गर्छ । निगरानीका क्रममा करिब दुई लाख २५ हजार पोस्टलाई थप मानवीय समीक्षा गरिएको थियो । तीमध्ये ८९ हजार पोस्ट आपत्तिजनक ठहरिएपछि आवश्यक कारबाही गरिएको फिफाले जनाएको छ । साथै करिब एक हजार सामाजिक सञ्जाल खाता थप अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाइएको छ । यसपटक विश्वकपमा सहभागी टोलीको संख्या ३२ बाट ४८ पुर्याइएकाले सामाजिक सञ्जाल गतिविधि र विश्लेषण गरिएका सामग्रीको मात्रा पनि उल्लेख्य रूपमा बढेको फिफाले जनाएको छ । स्वचालित निगरानी प्रणालीले टोलीका आधिकारिक सामाजिक सञ्जाल खातामा गरिएका करिब एक लाख ८१ हजार घृणास्पद टिप्पणी स्वतः लुकाएको थियो । त्यस्तै, अवाञ्छित सन्देश, स्वचालित खाता र नक्कली खाताबाट गरिएका टिप्पणीसहित २० लाखभन्दा बढी प्रतिक्रियाको निगरानी गरिएको थियो, जुन सन् २०२२ को विश्वकपको तुलनामा चार गुणा बढी हो । फिफाका अनुसार सामाजिक सञ्जाल सुरक्षा सेवा अब आपत्तिजनक सामग्री हटाउने कार्यमा मात्र सीमित छैन । यसले कानुन कार्यान्वयन गर्ने निकायका लागि प्रमाण सङ्कलन गर्ने काम पनि गरिरहेको छ । हालसम्म कानुनी कारबाहीका लागि आवश्यक मापदण्ड पूरा गर्ने १०० भन्दा बढी घटनाको पहिचान भइसकेको छ र ती घटनामा मुद्दा तयारीको प्रक्रिया अघि बढाइएको फिफाले जनाएको छ ।
१५- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई ट्राफिक प्रहरीले जरिवाना गरेको छ । मुख्यमन्त्री शाहले हेलमेट नलगाई मोटरसाइकल चलाउदै गरेको भिडियो सामाजिक संजालमा भाइरल भएपछि ट्राफिक प्रहरीले जरिवाना गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक रेशम आचार्यसहितको टोली मुख्यमन्त्री शाहको निवासमै पुगेर पाँच सय जरिवाना गरेका हुन् ।
१६- कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । कञ्चनपुरको भिमदत्त- १८ बस्ने ५० बर्षीय भण्डारी गाली बेइज्जती सम्बन्धी कसूरमा जिल्ला अदालत कञ्चनपुर तथा उच्च अदालत दिपायल महेन्द्रनगर इजलासबाट भएको फैसला कार्यान्वयनका पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो । जिल्ला अदालतबाट निज भण्डारीलाई १ महिना कैद र १० हजार जरिवाना हुने फैसला भएको थियो भने उच्च अदालतले थप ७ दिन कैद र थप २ हजार १ सय रुपैयाँ जरिवानाको फैसला गरेको थियो । यसैगरी निवेदक किरण बिष्टलाई १ लाख रुपैयाँ क्षतिपूर्ती समेत दिनुपर्ने फैसला भएको थियो । आज पक्राउ गरिएका भण्डारीलाई फैसला कार्यान्वयनका लागि सम्मानित कञ्चनपुर जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ । भण्डारी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा गाली बेइज्जती मुद्दामा दोषी ठहर भएका थिए ।
१७- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको ६२ सयले बढेर तोलाको २ लाख ८३ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ७७ हजार ३ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १८० रुपैयाँले बढेर तोलाको ४४५० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४२७० मा कारोबार भएको थियो ।
१८- संयुक्त राज्य अमेरिका सन् २००२ यता पहिलो पटक विश्वकपको नकआउट चरणमा जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाले अब अन्तिम १६ मा बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ । बोस्निया-हर्जेगोभिनाविरुद्धको खेलमा अमेरिकाले १० खेलाडीमा सीमित हुँदै पनि २-० को जित हात पार्यो । पहिलो हाफमा फोलारिन बालोगुनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा तारिक मुहरेमोभिचमाथि गरिएको चुनौतीका कारण बालोगुनले रातो कार्ड पाएपछि खेलको बाँकी २६ मिनेट अमेरिका १० खेलाडीमा सीमित भएको थियो । संख्यात्मक रूपमा कमजोर बने पनि अमेरिकाले दबाबलाई राम्रोसँग सामना गर्यो । खेलको ८२औं मिनेटमा अमेरिकाका मालिक टिलम्यानले आकर्षक फ्रिकिकमार्फत अर्को गोल गर्दै अग्रता दोब्बार पारेका थिए । यस जितसँगै आयोजक अमेरिकाले अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ, जहाँ उसले बेल्जियमको चुनौती सामना गर्नेछ ।
१९- युरी टिलेमान्सले अतिरिक्त समयको अन्तिम क्षणमा पेनाल्टीबाट निर्णायक गोल गरेपछि बेल्जियमले दुई गोलले पछि परेको अवस्था उल्टाउँदै सेनेगललाई ३- २ ले पराजित गर्दै फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ । यो रोमाञ्चक जितसँगै बेल्जियमले अन्तिम १६ मा अमेरिका वा बोस्निया-हर्जेगोभिनामध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ । निर्धारित समय सकिन चार मिनेट मात्र बाँकी रहँदा बेल्जियम २-० ले पछि परेको थियो । त्यसपछि दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका रोमेलु लुकाकुले थोमस म्युनियरको क्रसलाई हल्का स्पर्श गर्दै गोल गरेपछि बेल्जियमले पुनरागमनको संकेत दिएको थियो । ८९औँ मिनेटमा लिएन्ड्रो ट्रोसार्डको क्रसमा सेनेगलका गोलरक्षक मोरी डियाव बल नियन्त्रण गर्न चुकेपछि कप्तान टिलेमान्सले हेडमार्फत बराबरी गोल गर्दै खेललाई २-२ को अवस्थामा पुर्याए र अतिरिक्त समयमा धकेलेका थिए । यसअघि दोस्रो हाफको हाइड्रेसन ब्रेकअघि टिलेमान्स र लुकाकुबीच मैदानमै चर्काचर्की भएको थियो । त्यस क्रममा लुकाकुले हस्तक्षेप गर्दै अवस्था साम्य बनाएका थिए । हाबिब दियार्रा र इस्माइला सारले गोल गर्दै सेनेगललाई २-० को बलियो अग्रता दिलाएका थिए । उनीहरूको उत्कृष्ट प्रदर्शनका बाबजुद अन्तिम समयमा बेल्जियमले खेल आफ्नो पक्षमा पारेको हो । अतिरिक्त समयको १२५औँ मिनेटमा बेल्जियमले विवादास्पद पेनाल्टी पायो । दोडी लुकेबाकियोको प्रहार क्रसबारमा लागेपछि भएको अर्को आक्रमणमा लामिन कामाराले टिलेमान्सलाई लडाएपछि भिडियो सहायक रेफ्रीको करिब सात मिनेट लामो समीक्षा पश्चात् पेनाल्टी दिइएको थियो । त्यसपछि टिलेमान्सले शान्त रूपमा पेनाल्टीलाई जालीको माथिल्लो कुनामा प्रहार गर्दै बेल्जियमलाई अविस्मरणीय जित दिलाएका थिए ।
२०- कप्तान ह्यारी केनले अन्तिम समयमा दुई गोल गर्दै इङ्ग्ल्यान्डलाई हारको मुखबाट फर्काएपछि डिआर कङ्गोलाई २-१ ले पराजित गर्दै फिफा विश्वकप फुटबलको अन्तिम १६ मा पुर्याएका छन् । इङ्ग्ल्यान्ड खेलबाट बाहिरिने संघारमा पुगेको अवस्थामा केन नायक बनेका थिए । खेलको सुरुवाती अग्रता ब्रायन सिपेङ्गाले दिलाएपछि डिआर कङ्गोले लामो समयसम्म त्यसलाई जोगाएको थियो । निर्धारित समय सकिन १५ मिनेट बाँकी रहँदासम्म इङ्ग्ल्यान्ड पराजयतर्फ उन्मुख देखिएको थियो । तर ७५औँ मिनेटमा कप्तान केनले हेडमार्फत बराबरी गोल गर्दै टोलीलाई खेलमा फर्काए । त्यसपछि खेल सकिन चार मिनेट बाँकी रहँदा उनले शानदार व्यक्तिगत प्रयासमा अर्को गोल गर्दै इङ्ग्ल्यान्डलाई रोमाञ्चक जित दिलाए । डिआर कङ्गोका गोलरक्षक लियोनल म्पासीले खेलभर उत्कृष्ट बचाउ गर्दै इङ्ग्ल्यान्डलाई निराश बनाएका थिए । पहिलो हाफको इन्जुरी समयमा योआने विस्साले खाली पोस्टमा गोल गर्ने अवसर गुमाउँदै बल पोस्टमा प्रहार गरेका थिए । त्यो अवसर सदुपयोग भएको भए इङ्ग्ल्यान्डको पुनरागमन सम्भव नहुन सक्थ्यो । दोस्रो हाफमा प्रशिक्षक थोमस टुचेलले गरेको परिवर्तन प्रभावकारी बन्यो । वैकल्पिक खेलाडी एन्थोनी गोर्डनको क्रसमा केनले उत्कृष्ट हेडमार्फत बराबरी गोल गरेका थिए । केनको दोस्रो गोल यस विश्वकपको उनको पाँचौँ गोल पनि हो । उनले पेनाल्टी क्षेत्रको बाहिर बल नियन्त्रण गर्दै रक्षकलाई छलाएर दायाँ खुट्टाले शक्तिशाली प्रहार गरे, जसलाई म्पासीले रोक्न सकेनन् । यस जितसँगै इङ्ग्ल्यान्डले अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । अब इङ्ग्ल्यान्डले मेक्सिको सिटीस्थित एज्टेका रङ्गशालामा सह-आयोजक मेक्सिकोसँग अन्तरिम १६ मा प्रतिस्पर्धा गर्नेछ ।