• २०८३ बैशाख १९ गते शनिवार

रोल्पा दुर्घटनाको तीन दिन पछि रास्वपाको विज्ञप्ति: सडक सुरक्षाको अवस्थाबारे गम्भीर प्रश्न उठ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

वैशाख १९, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रोल्पामा जीप दुर्घटना भएको तीन दिनपछि विज्ञप्ति जारी गरेर दुख व्यक्त गरेको छ । रास्वपा प्रवक्ता मनिष झाले शनिबार बिहान विज्ञप्ति जारी गर्दै रुकुम पूर्वबाट रोल्पा जिल्लाको थवाङ गाउँपालिका–जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा परी ज्यान गुमाएका सम्पूर्णप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

बैशाख १७ गते भएको उक्त दुर्घटनामा एकैपटक ठूलो मानवीय क्षति भएको भन्दै पार्टीले यो घटनाले आफूहरूलाई स्तब्ध र मर्माहत बनाएको जनाउदै रास्वपाले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

लु १ ज ४१६७ नम्बरको जीप रोल्पा जिल्लाको थवाङ गाउँपालिका–१ स्थित भिरालो सडक खण्डमा दुर्घटनामा परेर २० जनाको मृत्यु भएको थियो । जीप करिब ७०० देखि ८०० मिटर गहिरो भिरमा खसेको थियो ।

यस घटनाले फेरि एक पटक सडक सुरक्षाको अवस्थाबारे गम्भीर प्रश्न उठाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले यस्तो दुर्घटना केवल तथ्यांक मात्र नभई नागरिकको जीवनसँग जोडिएको संवेदनशील विषय भएको उल्लेख गरेको छ । यस्ता घटना परिवार र समुदायमा दीर्घकालीन पीडा छोड्ने भएकाले यसतर्फ गम्भीर ध्यान दिनुपर्नेमा जोड दिएको छ ।

विज्ञप्तिमा भनिएको छ- ‘आगामी दिनमा यस्ता दुःखद घटनाको पुनरावृत्ति हुन नदिन सवारी साधन दुर्घटना न्यूनीकरणका लागि नीतिगत सुधार, सडक अनुशासनको कडा कार्यान्वयन तथा आवश्यक पूर्वाधार विकासमा हामी दृढताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ। नागरिकको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्दै प्रभावकारी र जिम्मेवार कदम चाल्नु अपरिहार्य रहेकोमा हामी स्पष्ट छौ ।’

Sharing

प्रतिक्रिया दिनुहोस