फागुन १८, काठमाडौं। रामेछापमा सोमबार भएको सवारी दुर्घटनामा प्रहरी सहायक निरीक्षक पर्शुराम यादवको मृत्यु भएको छ। उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गाडीमा सवार अन्य सातजना घाइते भएका छन्। उक्त गाडीमा कुल ११ जना सवार रहेको र तीमध्ये तीनजना दुर्घटना हुनुअघि गाडीबाट हाम फालेको जनाइएको छ।
दुर्घटना रामेछाप नगरपालिका–२ सिरुबारीमा भएको हो। मन्थलीबाट कालीकादेवी माध्यमिक विद्यालय र देउराली माध्यमिक विद्यालयका मतदान केन्द्रमा निर्वाचन सामग्री र कर्मचारी लिएर जाँदै गरेको गाडी सडकबाट करिब २०० मिटर तल खसेको थियो।
दुर्घटनालगत्तै सशस्त्र प्रहरी बल नेपालको विपद् उद्धार बेस खुर्कोटबाट सशस्त्र प्रहरी नायब निरीक्षक रमेश बहादुर थापाको कमाण्डमा गोताखोर तथा विपद् व्यवस्थापन तालिमप्राप्त टोली उद्धारमा खटिएको थियो।
उद्धारपश्चात घाइतेहरूलाई उपचारका लागि मन्थली अस्पताल पठाइएको सशस्त्रका डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।