कात्तिक १५, काठमाडौं । चीनले पछिल्लो समय निर्माण क्षेत्रमा रोबोटको प्रयोग बढाउँदै लगेको छ । अग्ला–अग्ला भवनका सिसा सफा गर्नेदेखि निर्माणस्थलमा फलामका छड बाँध्नेसम्मका काममा रोबोट प्रयोग हुन थालेका छन् । दक्षिण चीनको ग्वाङ्झाउमा भवनका बाहिरी भाग सफा गर्न रोबोट प्रयोग भइरहेको छ । यसअघि मानिसले जोखिम मोलेर गर्दै आएको अग्ला भवनका झ्याल सफा गर्ने काम अहिले रोबोटले गर्न थालेका छन् । रोबोटले भवनको बाहिरी भागमा रहेर सफाइ, निरीक्षण तथा नियमित अनुगमनका काम गर्छन् ।

एक्स–ह्युमनका सहसंस्थापक ह्वाङ जियानका अनुसार यस्ता रोबोटले श्रम लागत घटाउन सहयोग गरेका छन् । उनका अनुसार कम्पनीको घरेलु बजारमा यस वर्ष रोबोटका अर्डर ५० प्रतिशतले बढेका छन् भने विदेशबाट आउने अर्डर पनि तीव्र रूपमा बढिरहेका छन् ।
निर्माण क्षेत्रमा रोबोटको प्रयोग भवन सफाइमा मात्र सीमित छैन । निर्माणस्थलमा निकै मेहनत र समय लाग्ने फलामका छड बाँध्ने काममा पनि रोबोट प्रयोग हुन थालेका छन् । यसले कामको गति बढाउनुका साथै लागत घटाउन सहयोग गरेको छ ।
चाइना कन्स्ट्रक्सन फोर्थ इन्जिनियरिङ ब्युरोको इन्जिनियरिङ टेक्नोलोजी रिसर्च इन्स्टिच्युटअन्तर्गत स्मार्ट कन्स्ट्रक्सन रिसर्च सेन्टरका उपनिर्देशक ली बिङका अनुसार रोबोटले कामदारको तुलनामा ३० प्रतिशत बढी दक्षताका साथ काम गर्छन् । रोबोटको प्रयोगले निर्माण श्रमिकको भूमिकासमेत परिवर्तन गर्ने उनको भनाइ छ । उनका अनुसार श्रमिकलाई हातैले फलामका छड बाँध्ने कामबाट रोबोट सञ्चालन गर्ने औद्योगिक श्रमिकका रूपमा विकास गर्न सकिन्छ । यसले रोबोट प्रविधिको सुधार र दक्ष जनशक्ति विकासका लागि नयाँ बाटो खोल्ने अपेक्षा गरिएको छ ।
ग्वाङ्दोङ प्रान्तको आवास तथा शहरी–ग्रामीण विकास विभागका एक अधिकारीका अनुसार उक्त प्रान्तमा निर्माण रोबोट क्षेत्र र त्यसको आपूर्ति शृंखलालाई सहयोग गर्ने १० हजारभन्दा बढी उद्यम सञ्चालनमा छन् । सीसीटीभी प्लस