• २०८३ कार्तिक १६ गते आइतवार

विद्युत् सर्ट भएर अम्बे स्टिल कम्पनीमा लागेको आगो नियन्त्रणमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १५, काठमाडौं ।  बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा लागेको आगो नियन्त्रणमा आएको छ । आइतबार बिहान करिब ५:४० बजे विद्युत् सर्ट भएर कम्पनीभित्र लागेको आगो पाँच घन्टापछि नियन्त्रणमा आएको हो । आगलागीमा परी बाँकेका पाँच र भारतको बहराइच जिल्लाका तीन गरी आठजना घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको थियो । तीमध्ये बाँकेका शिवप्रसाद चमार र रामदिन हरिजनलाई थप उपचारका भारतको लखनउ रिफर गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइते हुनेमा जानकी गाउँपालिका-५ का २८ वर्षीय शिवप्रसाद चमार, २२ वर्षीय रामदिन हरिजन, २४ वर्षीय प्रेम धोबी, २९ वर्षीय दिलीपकुमार यादव र ३५ वर्षीय लक्ष्मीराम यादव छन् । त्यस्तै, भारतको बहराइच जिल्लाको कठौतियाका २९ वर्षीय राजकुमार, २४ वर्षीय नशिवकुमार निषाद र २५ वर्षीय विनोदकुमार निषाद पनि घाइते भएका छन् ।

आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लुद्रबहादुर केसीको कमान्डमा पाँच जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाका दुई र कोहलपुर नगरपालिकाको एक दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा आगो बिहानै पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस