कात्तिक १५, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सञ्चालन भइरहेका बेला प्रतियोगिता निर्देशक धिरेन्द्र साउँदले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानका मेहनती ग्राउन्ड स्टाफहरूको योगदानको उच्च प्रशंसा गर्दै उनीहरूप्रति हार्दिक सम्मान तथा धन्यवाद व्यक्त गरेका छन्। प्रतियोगिता निर्देशक साउँदले मैदानमा देखिने हरेक सुन्दर क्षण, व्यवस्थित खेल सञ्चालन र खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्न पाउने वातावरण निर्माणमा ग्राउन्ड स्टाफहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्।

उनले ग्राउन्ड स्टाफहरू पर्दापछाडि रहेर निरन्तर मेहनत गर्ने भए पनि नेपाली क्रिकेटको विकास र सफलतामा उनीहरूको योगदान हरेक खेलमा प्रतिबिम्बित भइरहेको उल्लेख गरेका छन्। मैदानलाई खेलयोग्य, व्यवस्थित र उत्कृष्ट अवस्थामा राख्न उनीहरूले गर्ने अथक परिश्रम, समर्पण र निरन्तरको प्रयास प्रशंसनीय रहेको उनको भनाइ छ। साउँदले सामाजिक सञ्जालमार्फत आफ्नो भावना सार्वजनिक गर्दै आजको विशेष ताली र सम्मानको वास्तविक हकदार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानका ग्राउन्ड स्टाफहरू रहेको उल्लेख गरेका छन्। उनीहरूको मेहनत र समर्पणकै कारण मैदानमा क्रिकेटका सुन्दर क्षणहरू सम्भव हुने भन्दै उनले उनीहरूलाई नेपाली क्रिकेटका वास्तविक नायकको संज्ञा दिएका छन्।

एनपीएलजस्तो ठूलो प्रतियोगिता सफलतापूर्वक सञ्चालन गर्न खेलाडी, प्रशिक्षक, अम्पायर, प्राविधिक टोली तथा व्यवस्थापन पक्षसँगै मैदानको रेखदेख र तयारीमा खटिने ग्राउन्ड स्टाफहरूको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ। खेल सुरु हुनुअघि र खेलका क्रममा समेत उनीहरूले गर्ने मेहनतले प्रतियोगिताको गुणस्तर र खेल सञ्चालनमा प्रत्यक्ष प्रभाव पार्ने गर्दछ। प्रतियोगिता निर्देशक साउँदले नेपाली क्रिकेटमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका यी मेहनती व्यक्तिहरूप्रति मनैदेखि आभार व्यक्त गर्दै उनीहरूको कामको उचित सम्मान हुनुपर्ने सन्देश दिएका छन्।
नेपाली क्रिकेटका पर्दापछाडिका यी वास्तविक नायकहरूको मेहनत, समर्पण र योगदानप्रति प्रतियोगिता निर्देशक साउँदले व्यक्त गरेको सम्मानले खेलकुद क्षेत्रमा प्रत्यक्ष देखिने भूमिकासँगै पर्दापछाडि रहेर काम गर्ने श्रमिकहरूको महत्त्वलाई समेत उजागर गरेको छ।