साउन १६, कर्णाली । साहित्यकार वसन्ती शाहीद्वारा लिखित कथासङ्ग्रह ‘आमा र आँसु’ तथा कविता सङ्ग्रह ‘यादका थुङ्गाहरू’ लोकार्पण गरिएको छ । फ्युचर नेपालद्वारा आज सुर्खेत वीरन्द्रनगरमा आयोजित लोकार्पण समारोहमा कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कथा तथा कविता सङ्ग्रह लोकार्पण गर्नुभएको हो ।

लोकार्पण समारोहमा प्रदेश प्रमुख जोशीले कर्णालीको दुवै कृतिले कर्णालीको यथार्थ चित्रण गरेको बताउनुभयो । मुलतः कर्णाली र सुदूरपश्चिम दुवै प्रदेशका महिलाहरूको वास्तविक पीडा, वेदना र भोगाइलाई यथार्थवादी तवरले कृतिमा उल्लेख गरिएको उहाँले उल्लेख गर्नुभयो ।
प्रदेश प्रमुख जोशीले भन्नुभयो, “विशेषगरी कर्णालीको समसामयिक विषय, कुरीति, कुसंस्कार, कुप्रथा, विकृति, विसङ्गति सङ्ग्रहमा समेटिएको छ । साहित्यकार शाहीले कर्णालीका महिलाका पीडा र विकासलाई कृतिका माध्यमबाट सन्देश दिन खोज्नुभएको छ ।”
समारोहमा पूर्वप्रहरी नायब महानिरीक्षक महेशविक्रम शाह, डा नवराज केसी, डा महेन्द्रकुमार मल्ल र पत्रकार ज्योति कटुवालले कथा तथा कविता सङ्ग्रहका साथै साहित्यकार शाहीले लेखकीय क्षेत्रबाट खेल्नुभएको भूमिका बारेमा टिप्पणी गर्नुभयो । टिप्पणीकर्ताहरूले दुवै कृति निकै सरल, सहज, सामान्य भाषाशैलीमा कृति सिर्जता गर्न साहित्यकार शाही सफल भएको बताउनुभयो । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुरले कर्णालीमा साहित्य रचना गर्ने सीमित महिलामध्ये शाही एक भएको बताउनुभयो ।
समारोहमा साहित्यकार शाहीले आफ्नो भोगाइ र सिकाइबारे जानकारी दिँदै हुम्लाकी महिलाले भोगेको पीडा आफूले पनि भोगेको बताउनुभयो । लोकसेवा आयोग कर्णाली प्रदेश सुर्खेतको कार्यवाहक अध्यक्षसमेत रहनुभएकी कथाकार शाहीले कर्णालीकी बुहारी, समय सकस गैर आख्यान लेखिसक्नुभएको छ । साहित्यकार शाहीको ‘आमा र आँसु’ कथा सङ्ग्रहमा १४ वटा कथा समेटिएका छन् भने तथा ‘यादका थुङ्गाहरू’ कविता सङ्ग्रहमा ८२ वटा कविता समेटिएका छन् ।