• २०८३ जेष्ठ २६ गते मङ्गलवार

९ सिटमा खुम्चिँदा पनि नखुलेको चेत कहिले खुल्छ ? : एमाले नेता सुरेन्द्र पाण्डे

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

चैत १८, काठमाडौं । सुरेन्द्र पाण्डेले नेपाल कम्युनिष्ट पार्टी (एमाले)भित्रको आन्तरिक लोकतन्त्र कमजोर र संकुचित भएको भन्दै तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। संसदीय दलको नेता चयन प्रक्रियाप्रति टिप्पणी गर्दै उनले युवा सांसद सुहाङ नेम्वाङले प्रतिस्पर्धा गर्न खोज्दा प्रस्तावक र समर्थकसमेत नपाएको घटनालाई “लोकतान्त्रिक पार्टीका लागि लज्जास्पद” भएको बताएका छन्।

पाण्डेले फेसबुकमार्फत नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाउँदै लेखेका छन् कि उक्त प्रक्रियाले पार्टीभित्रको लोकतान्त्रिक अभ्यास कति कमजोर भइसकेको छ भन्ने स्पष्ट देखाएको छ।

उनले नेतृत्वप्रति कडा टिप्पणी गर्दै भने, “जब नेतृत्व म नै पार्टी र पार्टी नै म भन्ने भ्रममा बाँच्छ र निर्वाचनको गम्भीर पराजयलाई सामान्य ठान्छ, त्यहाँ सुधारको ढोका बन्द हुन्छ।” यस्तो प्रवृत्तिले संगठनलाई गतिशील नभई अधोगतितर्फ धकेल्ने उनको भनाइ छ।

पाण्डेले हालको अवस्थामा पार्टी ९ सिटमा सीमित भइसके पनि नेतृत्वले आत्मसमीक्षा नगरेको भन्दै प्रश्न गरेका छन्—“अब पनि चेत नखुल्ने हो भने कहिले खुल्छ?”

उनले गुटगत राजनीति र पुरानो ढर्राले पार्टी अगाडि बढ्न नसक्ने ठोकुवा गर्दै एमालेलाई ‘निजी क्लब’ नभई आम कार्यकर्ता र जनताको साझा संस्था बनाउन साहसिक परिवर्तन आवश्यक रहेको बताएका छन्। उता, सम्पन्न संसदीय दलको निर्वाचनमा रामबहादुर थापा (‘बादल’) विजयी भएका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस