• २०८३ बैशाख २९ गते मङ्गलवार

आइपिएल : दिल्लीद्वारा सनराइजर्स हैदराबाद ७ विकेटले पराजित

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

चैत १७, काठमाडौं । तीव्र गतिका बलर मिचेल स्टार्कको ५ विकेटको सहयोगमा दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार दोस्रो जित हात पारेको छ । दिल्लीले आज सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्यो । १ सय ६४ रनको लक्ष्य दिल्लीले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

Pat Cummins of Sunrisers Hyderabad and Axar Patel of Delhi Capitals at toss during match 10 of the Indian Premier League season 18 (IPL 2025) between Delhi Capitals and Sunrisers Hyderabad held at the Dr YS Rajasekhara Reddy ACA-VDCA Cricket Stadium, Visakhapatnam on the 30th March 2025.
Photo by Deepak Malik / Sportzpics for IPL

दिल्लीको जितमा ओपनर फाफ डु प्लेसिसले सर्वाधिक ५० रन जोडे । उनले २७ बलको सामना गर्दै ३ चौका र ३ छक्का प्रहार गरे । पहिलो विकेटका लागि फाफले अर्का ओपनर जेक फ्रेजरले ९.१ ओभरमा ८१ रनको‌ साझेदारी गरे। । जेकले ३२ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३८ रन जोडे । अभिषेक पोरेल १८ बलमा २ चौका र २ छक्काको सहयोगमा ३४ रनमा अविजित रहे । केएल राहुल १५ रनमा आउट हुँदा ट्रिस्टन स्टब्स २१ रनमा नट आउट रहे । हैदराबादका लागि तीनै विकेट यसै खेलबाट आइपिएल डेब्यु गरेका जिशान अन्सारीको नाममा रह्यो ।

त्यसअघि दिल्लीको घरेलु मैदान विशाखापट्टनममा टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले अनिकित बर्माको अर्धशतक सहयोगमा १८.४ ओभरमा सबै विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।

हैदराबादका लागि युवा ब्याटर अनिकितले ४२ बलमा ६ छक्का र ५ चौकासहित सर्वाधिक ७४ रन जोडेका थिए । माथिल्लो क्रमका ४ ब्याटर सस्तैमा आउट भएर समस्यामा परेको हैदराबादका लागि अनिकितको अर्धशतकले मध्यम योगफल सम्म पुग्न सहयोग पुग्यो ।

३७ रन जोड्दा ४ विकेट गुमाएर समस्यामा पुगेको हैदराबादका लागि अनिकितले पाँचौ विकेटका लागि हेनरिक क्लासेनसँग ७७ रनको साझेदारी गरे । क्लासेनले १९ बलमा २ चौका र २ छक्काको सहयोगमा ३२ रन जोडे ।

ओपनर ट्राभिस हेड १२ बलमा ४ चौकाको सहयोगमा २२ रनमा आउट भए । अर्का ओपनर अभिषेक शर्मा १, इशान किशन २, अभिनब मनोहर ४, कप्तान प्याट कमिन्स २ तथा नितिशकुमार रेड्डी रनको खाता नखोल्दै आउट भए । हर्षल पटेल ५ तथा वयन मुल्दार ९ रन बनाए ।

हैदराबादको शीर्षक्रमलाई पेभिलियन फर्काउने क्रममा पावर प्लेमा दिल्लीका तीव्रगतीका बलर स्टार्कले ३ विकेट लिए । स्टार्कले डेथ ओभरमा २ विकेट आफ्नो नाममा थपे ।

समग्रमा स्टार्कले ३.४ ओभरमा ३५ रन खर्चिएर ५ विकेट लिए । कुलदिप यादवले ३ र मोहित शर्माले १ विकेट लिए ।

दिल्ली २ खेलमा ४ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । दिल्लीले पहिलो खेलमा लखनउमाथि रोमाञ्चक जित निकालेको थियो ।

हैदराबादको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा राजस्थानलाई हराएको हैदराबाद दोस्रो खेलमा लखनउसँग पराजित भएको थियो । १० टोलीको सहभागिता रहेको आइपिएलमा हैदराबाद २ अंकका साथ सातौं स्थानमा छ ।

Sharing

प्रतिक्रिया दिनुहोस