• २०८३ कार्तिक ८ गते शनिवार

संस्कृतिमन्त्री पाण्डेद्वारा पशुपति क्षेत्रको अवलोकन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १२, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले साउनको दोस्रो सोमबारका अवसरमा पशुपति क्षेत्रको अवलोकन गर्नुभएको छ । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहनुभएका मन्त्री पाण्डेले भक्तजनले सहज रूपमा मूल मन्दिरभित्र प्रवेश पाए÷नपाएको, सुरक्षा व्यवस्थालगायत विषयमा कोषका पदाधिकारी एवं कर्मचारीसँग जानकारी लिनुभएको थियो ।

कोषका सदस्य सचिव एवं कर्मचारीलाई उहाँले सहज रूपमा दर्शन गर्न सक्ने गरी व्यवस्थापन गर्न निर्देशन दिनुभएको थियो । साउन महिनाको दोस्रो सोमबार आज पनि बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएका थिए । यस्तै, चार वटा सवारीसाधनमार्फत चक्रपथबाट पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनलाई दिनभर निःशुल्क सेवा दिइएको कोषका सदस्य सचिव सुभाषचन्द्र जोशीले जानकारी दिनुभयो ।

बिहानदेखि दिनभर साउने झरी परिरहे पनि भक्तजनले छाता ओढेर भए पनि पशुपतिनाथको दर्शन एवं पूजा आराधना गरेका थिए । बेलुकी ७ः०० बजेसम्म करिब एक लाख ५० हजार भक्तजनले पशुपतिनाथको मूल मन्दिरभित्र दर्शन गरेको अनुमान रहेको सदस्य सचिव जोशीले बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस