चैत १४, काठमाडौं । इण्डियन प्रिमियर लिग(आइपिएल) मा लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदराबादविरुद्ध टस जितेको छ । हैदराबादको घरेलु मैदान राजिब गान्धि क्रिकेट स्टेडियममा लखनउका कप्तान ऋषभ पन्तले टस जितेर बलिङ रोजेका हुन् ।

पहिलो खेलमा हैदराबादले राजस्थान रोयल्सलाई पराजित गरेको थियो । लखनउ सिजनको पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा लखनउ दिल्ली क्यापिटल्ससँग पराजित भएको थियो ।
लखनउले सिजनको पहिलो खेल कमजोर बलिङका कारण हारेको थियो । २ सय १० रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले ६ विकेटको क्षतिमा १ सय १३ रन बनाउँदा नतिजा लखनउको पक्षमा आउने अनुमान गरिएको थियो । तर, लखनउले कमजोर बलिङकै कारण यो खेल हार्न पुग्यो ।
लखनउसँग रवि बिश्नोई र शार्दुल ठाकुर मात्र अन्तर्राष्ट्रिय अनुभव भएका बलर थिए । तर, शार्दुलले सुरुमा २ विकेट लिएपनि दुई ओभर मात्र दिइयो । बिश्नोईले २ विकेट लिए पनि ५३ रन खर्चिन पुगे ।
उता, हैदराबादले भने घरमा हुने खेलमा परिवर्तन गर्ने छैन । राजस्थान रोयल्सविरुद्ध ट्राभिस हेड र अभिषेक शर्माले उत्कृष्ट सुरुवात दिलाएका थिए । इशान किशनले ४७ बलमा अविजित १ सय ६ रन बनाए ।
शीर्ष ६ खेलाडीमध्ये प्रत्येकको स्ट्राइक रेट २ सय वा सोभन्दा बढी थियो । यसले गर्दा हैदराबादले आइपिएलको सर्वाधिक योगफलको आफ्नै रेकर्डभन्दा एक रन कम बनाएका थियो।