• २०८३ बैशाख १८ गते शुक्रवार

पुलिसको अपराजित यात्रा टुङ्गियो, आर्मी ४ विकेटले विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

चैत १४, काठमाडौं । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबको १९औं खेलमा आएर अपराजित यात्रा टुङ्गिएको छ । बिहीबार भएको विभागीय डर्बी खेलमा आर्मीले पुलिसलाई ४ विकेटले पराजित गर्‍यो। जितसँगै आर्मीले पुलिससँग समान अंक भए पनि पुलिसलाई हेड टु हेडमा अघि रहेर लिग चरणको शीर्ष स्थानमा उक्लिएको छ ।

पुलिस अघिल्लो संस्करणमा १० खेल जितेको थियो । भने, यस संस्करणमा लगातार ८ खेलमा जित हात पारेको थियो । सन् २०२२ मा भएको पिएमको सेमिफाइनलमा आर्मीसँग २ विकेटको रोमाञ्चक हार पछि पुलिस अपराजित थियो ।

पुलिसले दिएको १ सय ४९ रनको लक्ष्य आर्मीले ४१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । आर्मीको जितमा विवेक कुमार यादवले अविजित रहँदै सर्वाधिक ४१ रन जोडे । उनले ४५ बलको सामना गर्दै ५ चौका र १ छक्का प्रहार गरे ।

कप्तान विनोद भण्डारीले ३५ बलमा अविजित १३ रन जोडे । तृतराज दास २५, भीम सार्की २३ तथा सन्तोष कार्की २२ रनमा आउट भए । पुलिसका लागि ललितनारायण राजवंशीले ४ तथा करण केसी र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।

एक्स्ट्रा टेक ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिस ४१.४ ओभरमा १ सय ४८ रनमा अल आउट भएको थियो ।

कप्तान दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ खेले पनि पुलिस कम योगफलमा नै समेटिएको थियो । कप्तान ऐरीले ३७ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५० रन जोडेका थिए ।

आरिफ शेख ५२ बलमा २२, गुल्शन झा २७ बलमा १७ तथा अर्जुन साउद ३५ बलमा १३ रन जोड्दै आउट भएका थिए । सागर ढकाल २७ बलमा १६ रनमा अविजित रहेका थिए ।

शाहब आलमले १० ओभरमा ३१ रन खर्चिएर ४ विकेट लिएका थिए । शाहबले पिएम कपको इतिहासमा १ सय विकेट पूरा गरेका छन् । उनी अगाडी पुलिसका ललितनारायण राजवंशीले १ सय विकेट पूरा गरेका थिए । शाहबले ४७ इनिङमा १ सय विकेट पूरा गरेका हुन् ।

सन् २०१७ बाट सुरु भएको पिएम कपमा शाहब निरन्तर त्रिभुवन आर्मी क्लबमा रहेका छन् । यस संस्करणमा पनि शाहब २८ विकेटका साथ सर्वाधिक विकेटकर्ताको दोस्रो स्थानमा छन् । पहिलो स्थानमा रहेका ललितको ३६ विकेट रहेको छ ।

नरेन साउदले ३ तथा भीम सार्की र कुशल मल्लले समान १ विकेट लिए ।

शनिबार हुने पिएम कपको फाइनलमा स्थान पक्का गरिसकेका पुलिस र आर्मीको यस खेलबाट लिग चरणको शीर्ष र दोस्रो हुने टोली टुंगो लागेको छ ।

जितसँगै समान अंक भएपनि आर्मी हेड टु हेडमा अघि रहेर शीर्ष स्थानमा छ भने पुलिस दोस्रो भएको छ । अर्को विभागीय टोली नेपाल एपिएफ क्लबले तेस्रो स्थान पक्का गरेको छ । चौथो स्थानका लागि बागमती र मधेश प्रदेश खेल्दैछन् ।

Sharing

प्रतिक्रिया दिनुहोस