पौष ९, काठमाडौं । बलिवुड अभिनेता रणवीर सिंहको फिल्म ‘धुरन्धर’ ले रिलिजको १९ दिनमा घरेलु बक्स अफिसमा ६ सय करोड क्लबमा पुगेको छ ।

बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार १९ दिनमा फिल्मले ६१९.३० करोड कमाई गरेको हो । तेस्रो साताको पहिलो मंगलबार फिल्मले २०.४० करोड कमाएको थियो । धुरन्धरले पहिलो सातामा भारतमा मात्र २१८ करोड भारु कमाई गरेको थियो भने दोस्रो सातामा २६१.५० करोड कमाई गरेको थियो । त्यस्तै तेस्रो साताको पाँच दिनमा १३९.८ करोड कमाएको छ ।
फिल्मको सामाजिक सञ्जाल र मिडियामा सकारात्मक प्रचार भएको फाइदा बक्स अफिसमा देखिएको छ । त्यस्तै फिल्मले भारत बाहिर पनि शानदार कमाई गरिरहेको छ ।
रणवीर सिंहको ‘धुरन्धर’ लाई वर्षको सबैभन्दा ठूलो फिल्म मानिएको छ । फिल्ममा रणवीर सिंहसहित संजय दत्त, अक्षय खन्ना, आर. माधवन, अर्जुन रामपाल, सारा अर्जुन र राकेश बेदीको प्रमुख भूमिका रहेको छ । फिल्मलाई आदित्य धरले निर्देशन गरेका हुन् भने फिल्ममा रणवीर सिंहको पनि लगानी रहेको छ ।
त्यस्तै यस फिल्मको डिजिटल अधिकार नेटफ्लिक्सले किनेको छ । आधिकारिक ओटीटी रिलीज मिति भने अझै घोषणा गरिएको छैन । यस फिल्मको लागत करिब २२० करोड भारु भएको बताइएको छ । जसमा फिल्मले सिनेमा हल बाहेक विभिन्न अधिकार बिक्री गरेर ११० करोड कमाई गरिसकेको छ ।