• २०८३ बैशाख २० गते आइतवार

उज्यालो खोज्न अँध्यारो बाटो हिँडेकी विद्या

पत्रपत्रिका पढ्न लाग्ने समय : ३ मिनेट

साउन ८, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को संस्थागत अवरोधका बीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिक गतिविधि तीव्र बनाउने निष्कर्षमा पुगेकी छन् । एमाले केन्द्रीय कमिटी बैठकले पार्टी सदस्यता नवीकरण गरिसकेकी भण्डारीको सदस्यता ‘होल्ड’मा राख्दै पार्टी राजनीतिमा रोकेलगत्तै उनले ‘राजनीतिक ब्याकअप’सहित सक्रियता बढाउने निष्कर्षमा पुगेकी हुन् ।

भण्डारीले आफूनिकट नेताहरूसँगको आन्तरिक छलफल गर्दै जिल्ला–जिल्लामा कार्यक्रम लिएर जाने जनाएकी छन् । एमालेको मंगलबार मध्यराति आएको सो निर्णयपश्चात् भण्डारी आन्तरिक छलफलमा जुटेकी छन् । एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीले संविधान, कानुन र जनताको बहुदलीय जनवादको मर्मविपरीत पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा आउन बन्देज लगाएको टिप्पणी गरेका छन् । एमालेको केन्द्रीय कमिटीले प्रस्तावमा पनि नभएको र छलफल गर्नुपर्ने एजेन्डामा समेत नरहेको कुरालाई छलफलमा ल्याएर भण्डारीलाई राजनीतिमा आउनबाट रोक लगाएको बताए । ‘प्रस्तावमा पनि नभएको, छलफल गर्नुपर्ने र निष्कर्ष निकाल्नुपर्ने एजेन्डामा पनि नभएको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा सक्रिय हुने कि नहुने भन्ने सन्दर्भलाई छलफलमा ल्याएर उहाँलाई राजनीतिमा आउन रोक लगाउने निर्णय कमिटीले ग¥यो, यो जनताको बहुदलीय जनवाद (जबज)को सिद्धान्तसँग, त्यसको मान्यतासँग मेल खाँदैन,’ थापाले भने, ‘जबजले कसैलाई पनि निषेध गर्ने, रोक लगाउने, छेक्ने प्रकारको मान्यता मान्दैन, नेतृत्वका लागि स्वच्छ प्रतिस्पर्धा, हरेकका विचारलाई सम्मान गरेर प्रतिस्पर्धाका माध्यमबाट आफ्ना विचारलाई स्थापित गर्ने मान्यता जबजको हो ।’

अचम्मित छैन भण्डारी परिवार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी एवं मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारीले एमाले केन्द्रीय कमिटीको बैठकको निर्णयबाट आफू अचम्मित नभएको जनाएकी छन् । विद्याकी छोरी उषाकिरणले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘तपाईंहरूमध्ये कति जना यस निर्णयबाट छक्क पर्नुभएको देखेर म छक्क परें, तपाईंहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहनुभएको छ ? निर्णय र निर्णयमा पुग्न गरिएका तिकडम दुवैबाट मचाहिँ अचम्मित छैन, म खुसी छु कि यो खुला रूपमा बाहिर आयो ।’ उनले नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवसको सन्दर्भ उल्लेख गर्दै आफूलाई उहिलेउहिले पुष्पलालको परिवार नेकपा एमालेमा नैतिक समर्थन गर्न पनि देखिनेगरी किन प्रस्तुत नभएको होला भन्ने लाग्ने गरेको पनि बताएकी छन् ।

शंकरको व्याख्याः नवीकरण प्रक्रिया निष्क्रिय
एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरणको प्रक्रिया अब निष्क्रिय भइसकेको बताएका छन् । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले यो विषय पार्टीको विधान र केन्द्रीय निर्णयका आधारमा अघि नबढाइएको स्पष्ट पारेका छन् । ‘पार्टी विधानका हिसाबले पनि त्यो विषय केन्द्रीय कमिटीको बन्नुपथ्र्यो, केन्द्रीय कमिटीले नै उहाँको फरक भूमिकालाई आवश्यक ठानेका कारणले सदस्यमा उहाँलाई सामेल गरिराख्नुपरेन,’ महासचिव पोखरेलले भने । पूर्वराष्ट्रपति भण्डारीको पुनः राजनीतिक सक्रियतासम्बन्धी चर्चा चलिरहेका बेला एमालेको आधिकारिक धारणा प्रस्तुत गर्दै महासचिव पोखरेलले उनको भूमिकालाई अहिलेको अवस्थामा राजनीतिक जिम्मेवारीसँग जोड्न मिल्दैन भन्ने धारणा व्यक्त गरे ।

‘संविधानले सभामुखको हकमा प्रतिनिधिसभाको सदस्य कायम हुनुपर्ने भन्छ, तर राष्ट्रपति भएपछि प्रतिनिधिसभा सदस्यबाट पनि राजीनामा दिनुपर्छ,’ उनले उदाहरण दिँदै स्पष्ट पारे । एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई दल विशेषको सदस्य भएर राजनीतिमा सक्रिय हुनु उपयुक्त नहुने भन्दै सदस्यता नवीकरण रोकेको छ । एमालेले नवीकरण मात्र होइन कि कुनै पनि दलमा आबद्ध भएर कार्यकर्ता वा नेता हुने विषय नै संविधानको भावना र मर्मविपरीत हुनेसमेत स्मरण गराएको छ । यो समाचर आजको राजधानी दैनिकमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस