असार १०, बर्दिया । बर्दियाको बाँसगढी नगरपालिका देशकै पहिलो डिजिटल नगरपालिका घोषणा भएको छ । डिजिटल नगरपालिका घोषणा भएसँगै नगरवासीले घरबाटै अनलाइनमार्फत सेवा पाउने भएका छन् ।

राष्ट्रिय परिचय पत्रसँग आवद्ध गरी नगरपालिकाको सेवा प्रवाह गर्न लागेको हो । नगरबासीहरूले छिटो छरितो र सरल ढङ्गले सेवा पाउने भएका छन् । बाँसगढीका देश विदेशमा बस्ने सबैले आफु बसिरहेको स्थानबाट नै सेवा प्राप्त गर्ने गरी सेवा सुरु गरिएको बाँसगढी नगरपालिकाका नगरप्रमुख खडक बहादुर खड्काले बताए ।
डिजिटल बाँसगढीको सुरुवात गर्दै नगरप्रमुख खड्काले अब सेवा लिनका लागि नगरपालिका नै धाउनु पर्ने बाध्यता हटेको बताए । उनले देशको पहिलो डिजिटल नगरपालिका भएकोमा खुसी लागेको बताए ।
गत बैशाख २९ गते बासँसगढी नगरपालिका र राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबिच बसेको संयुक्त बैठकबाट बाँसगढी नगरपालिकाले प्रदान गर्ने सबै सेवाहरूलाई डिजिटल रुपमा लैजाने सहमति भएको थियो ।डिजिटल बाँसगढी निर्माणका लागिगरी नगरपालिकाको सेवा प्रवाह गर्ने सबै सेवहरूलाई डिजिटल माध्यमबाट प्रवाह गर्ने निर्णय बमोजिम घरबाट नै सेवा लिन मिल्ने गरी डिजिटल बाँसगढी २.० निर्माण गरिएको छ ।
आजबाट नै डिजिटल बाँसगढीबाट सेवा सुरु हुने बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेब बहादुर वलीले बताए । बाँसगढी नगरपालिकाको १७ औँ नगरसभाको शुन्य समयमा डिजिटल बाँसगढीको घोषणा गरिएको थियो ।