चैत ११, काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई जितका लागि २ सय १० रनको लक्ष्य प्रस्तुत गरेको छ । मिचेल मार्स र निकोलस पुरनले विस्फोटक ब्याटिङ गर्दै उत्कृष्ट सुरुवात दिलाए अन्य ब्याटरको प्रदर्शन सामान्य रह्यो ।

विशाखापटनमा जारी खेलमा लखनउले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय ९ रन बनाएको छ । निकै उत्कृष्ट सुरुवात गरेको लखनउले पहिलो विकेटका रूपमा ऐडन मारक्रमलाई गुमाएको थियो । पाँचौँ ओभरमा ४६ रनको स्थितिमा मारक्रम १३ बलमा १५ रन बनाउँदै विपराज निगमको बलमा आउट भए ।
त्यसपछि मार्स र पुरन मिलेर मात्र ४२ बलमा ८७ रन जोडे । मार्सले ३६ बलमा ७२ रन जोडे । उनले ६ चौका र समान ६ छक्का प्रहार गरे । पुरनले ३० बलमा ७५ रन बनाए । उनले ६ चौका र ७ छक्का प्रहार गरे।
कप्तान ऋषभ पन्तले पूर्व टोली विरुद्ध खाता खोल्न सकेनन्। डेभिड मिलरले १९ बलमा २७ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
दिल्लीका लागि मिचेल स्टार्कले ४ ओभरमा ४२ रन खर्चेर ३ विकेट , कुलदीप यादवले २ तथा विपराज निगम र मुकेश मारले समान १ विकेट लिए ।