साउन ७, काठमाडौं । मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष उषा किरण भण्डारीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा सक्रिय हुन नदिने एमालेको निर्णय प्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ। उहाँले सामाजिक सञ्जालमा मार्फत आफ्नो धारणा राख्नुभएको हो । भण्डारीले लेख्नुभएको छ, “तपाईंहरूमध्ये कति जना यो निर्णयबाट छक्क पर्नुभएको देखेर म छक्क परें। तपाईंहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहनुभएको छ ?”

उहाँले यस निर्णय र यसमा पुग्न गरिएका “तिकडम” दुवैबाट आफू अचम्मित नभएको स्पष्ट पार्नुभएको छ। बरु, यो विषय खुला रूपमा बाहिर आएकोमा उहाँले खुसी व्यक्त गर्नुभएको छ।
उषा किरण भण्डारीले यो घटनाक्रम कमरेड पुष्पलाल श्रेष्ठको स्मृति दिवस को दिन पर्नुलाई एउटा संयोगका रूपमा लिनुभएको छ। उहाँले पहिले पुष्पलालको परिवार किन नेकपा एमालेलाई नैतिक समर्थन गर्न पनि सार्वजनिक रूपमा प्रस्तुत हुँदैन भनेर सोच्ने गरेको स्मरण गर्दै, अहिलेको घटनाले सबै कुरा प्रकट गरिदिएको बताउनुभएको छ।
