• २०८३ बैशाख ५ गते शनिवार

मधेशमा खानेपानी अभाव समाधान गर्न सांसदहरुको ध्यानाकर्षण

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन ६, काठमाडौं । मधेशमा खानेपानीको अभाव देखिएसँगै समस्या समाधानका लागि सांसदहरुले ध्यानाकर्षण गराउनुभएको छ । सङ्घीय संसद् राष्ट्रियसभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरुले खानेपानीको हाहाकारले निम्तिएको परिस्थितिलाई सम्बोधन गर्न माग गर्नुभएको हो ।

सांसद आनन्दप्रसाद ढुङ्गानाले मधेशमा खानेपानी समस्या तत्काललाई मात्र नभई दीर्घकालीन रुपमा नै समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “खेत त बाँझो भएको छ नै खानेपानी समेत नपाउने स्थिति देखिन्छ । आगो निभाउने बारुणयन्त्र खानेपानी ओसार्न प्रयोग भइरहेका छन् । यो तत्कालको मात्र होइन दीर्घकालीन समस्या हो । यसको हल गर्नुपर्छ । दीर्घकालीन योजना बनाएर जानुपर्छ ।” सांसद शेखरकुमार सिंहले सुक्खाग्रस्त समस्या मधेशमा मात्र होइन आउने दिनमा मेचीदेखि महाकालीसम्मै पुग्ने देखिएकाले यसलाई सम्बोधन गर्नु आवश्यक भएको बताउनुभयो । “सङ्घीय सरकारले यथाशीघ्र खानेपानी र सिँचाइ व्यवस्था गर्नुपर्छ,” उहाँले भन्नुभयो । बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ ।

यस्तै, गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस