• २०८३ बैशाख २७ गते आइतवार

अखिलको महाधिवेशनमा अध्यक्ष पदमा पराजित प्रकाशको प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुल्ला पत्र

खबर२४ नेपाल पढ्न लाग्ने समय : ४ मिनेट

साउन ६, काठमाडौं । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनरास्ववियु) को दशौं महाधिवेशनमा अध्यक्ष पदमा पराजित प्रकाश पौडेलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सामाजिक सञ्जाल मार्फत खुल्ला पत्र लेखेका छन । नेकपा एमालेको जारी केन्द्रिय कमिटी बैठकमा जनसंगठनका पराजित नेता कार्यकर्ताका विषयमा पार्टी अध्यक्ष केपी ओलीले बोलेको विषयमा प्रकाशले पत्र लेखेका हुन ।

प्रधानमन्त्री ओलीसँग कुराकानी गरिरहेको फोटो सहित उनले आफ्नो राजनैतिक यात्रा देखि अखिल अधिवेशनसम्मका विषयबस्तु चित्रण गरेका छन ।

उनले खुल्ला पत्रमा लेखेका छन :
मेरो आदर्श, श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओली ज्यू,
आज मनमा शब्दहरूभन्दा धेरै भावनाहरू छन्, र ती भावनाहरू पोख्न म सामाजिक सञ्जालको सहारा लिँदैछु। आज म यहाँ कुनै पद हार्दाको पीडा सुनाउन आएको होइन, बरु एउटा निष्ठावान कार्यकर्ताको मनमा लागेको गहिरो चोट र उसले आफ्नो आदर्शसँग सोध्न चाहेको एउटा प्रश्न लिएर आएको छु।

मलाई २०६४ सालको त्यो अँध्यारो समय राम्रोसँग याद छ। जब हाम्रा कार्यकर्ताहरूमाथि खुल्लमखुल्ला आक्रमण हुन्थ्यो, जब हामी निरीह र भयभीत थियौँ, त्यतिबेला त्यही अन्धकारलाई चिर्दै एउटा आशाको किरण बनेर तपाईंको नाम गुन्जिएको थियो केपी शर्मा ओली! त्यही एउटा नामले म जस्तो किशोरको मनमा एउटा अमिट छाप छोड्यो नेता यस्तो हुनुपर्छ! जो सत्य बोल्छ, जो अन्यायसँग लड्छ! त्यही दिनदेखि तपाईं मेरो आदर्श बन्नुभयो।

त्यही आदर्शको पछि लाग्दा मैले के-के भोगें, त्यसको हिसाबकिताब कहिल्यै राखिनँ। म्याग्दीको गाउँबाट पैसा उठाएर, भोकै पेट, तपाईंको एउटा आवाज सुन्न पोखरासम्म आउनु मेरा लागि तीर्थयात्रा जस्तै थियो। जब-जब संगठनभित्र तपाईंको पक्षमा बोल्दा ममाथि घेराबन्दी हुन्थ्यो, मलाई अपमानित गरिन्थ्यो, मैले त्यसलाई तपाईंको विचारको लागि चुकाएको सानो मूल्य सम्झिएँ। २०६७ होस् वा २०६९ , २०७२ सालको महाधिवेशन, म तपाईंको विचारको झण्डा बोकेर लडिरहें।

जब पार्टी एकताको नाममा नेकपालाई कब्जा गरेर हाम्रो सूर्यलाई निल्ने षड्यन्त्र भयो, जब तपाईंमाथि चारैतिरबाट घेराबन्दी भयो, त्यतिबेला धेरै ठूला नेताहरू मौन थिए, सुरक्षित घरभित्र बसेका थिए। तर म, तपाईंको एउटा सामान्य सिपाही, तपाईंको रक्षाको लागि सडकमा थिएँ। गण्डकी प्रदेशको विद्यार्थी भेलाको अध्यक्षता गर्दै म तपाईंको पक्षमा गर्जिरहेको थिएँ। त्यो मेरो रगतको नाता थियो, विचारको समर्पण थियो।

र आज… आज त्यही लामो यात्रा र त्यागपछि, मैले पार्टीको आन्तरिक लोकतन्त्रको अभ्यास गरेँ। मैले कुनै विद्रोह गरिनँ, कुनै गुट बनाइनँ। केवल तपाईंले नै बनाउनुभएको विधानमा टेकेर, कार्यकर्ताको माझमा जाने आँट गरेँ। मैले प्रतिस्पर्धा रोजेँ।

त्यसैले आज म सोध्न चाहन्छु, अध्यक्ष ज्यू, के लोकतान्त्रिक प्रतिस्पर्धा गर्नु अपराध हो?  के कार्यकर्ताको माझमा जानु पाप हो?
७ मतले हार्नु मेरो भाग्य होला, त्यो अंकगणितलाई मैले सहर्ष स्वीकार गरें। तर जब लोकतन्त्रको त्यही मन्दिरमा, आफ्नै अभिभावकबाट, आफ्नै नेताबाट “असन्तुष्ट” र “हारेकाहरू” भन्ने शब्दले प्रहार हुन्छ, तब मन रुँदो रहेछ अध्यक्ष ज्यू… छातीभित्र कतै गहिरो चोट लाग्दो रहेछ… मुटु छियाछिया हुँदो रहेछ। हिजो सडकमा तपाईंको लागि लड्दा पाएको हरेक चोटभन्दा यो शब्दको चोट कैयौं गुणा गहिरो हुँदो रहेछ।

हामीलाई थाहा छ, तपाईंलाई एउटा सिमित घेराले भ्रममा पारेको छ। तपाईंको वरिपरि एउटा यस्तो पर्खाल खडा गरिएको छ, जसले तपाईंलाई आम कार्यकर्ताको साँचो आवाज सुन्नबाट रोकिरहेको छ। त्यो घेराले तपाईंलाई एउटा यस्तो कथा सुनाउँछ, जहाँ प्रश्न सोध्नेहरू शत्रु हुन्, प्रतिस्पर्धा गर्नेहरू विद्रोही हुन् र मौन बस्नेहरू मात्र भक्त हुन्। उनीहरू तपाईं र हामीजस्ता कार्यकर्ताको बीचमा एउटा खाडल खनेर आफ्नो स्वार्थको रोटी सेकिरहेका छन्। तर म आज यही मञ्चबाट, त्यो घेरालाई चुनौती दिँदै भन्न चाहन्छु— तपाईं हाम्रो टावर नेता हो! हाम्रो अभिभावक हो! हाम्रो लडाइँ तपाईंको विरुद्धमा होइन, बरु तपाईंलाई त्यो भ्रमको पर्खालबाट बाहिर निकाल्नको लागि हो। हाम्रो संघर्ष तपाईंलाई कमजोर बनाउन होइन, तपाईंलाई कार्यकर्ताको शक्तिसँग जोडेर अझ शक्तिशाली बनाउनको लागि हो।

अन्त्यमा, म प्रकाश पौडेल, आज सबैको सामुन्ने एउटा प्रण गर्छु।

मलाई कुनै पद चाहिँदैन मलाई कुनै प्रतिष्ठा चाहिँदैन। मलाई त केवल देशको निम्ति हाम्रो सफल योगदान र समर्पण दिन यो पार्टी चाहिन्छ, सूर्य अंकित झण्डा चाहिन्छ र तपाईंले देखेको “समृद्ध नेपाल, सुखी नेपाली” को सपना चाहिन्छ।
जसले जेसुकै भनोस्, म यहीँ छु, यहीँ रहन्छु! यही माटोमा लड्छु र यही माटोमा मर्छु! तर पार्टी र विचारको लागि लड्न कहिल्यै छोड्दिनँ। मेरो रगत र पसिनाको हरेक थोपा यो पार्टको लागि समर्पित छ।

तपाइँले भन्नुहुन्छ सत्य संग नलडने शक्ति संग नझुक्ने 🙏

प्रकाश पौडेल

Sharing

प्रतिक्रिया दिनुहोस