आज वि.सं. २०८२ श्रावण ०६ गते मङ्गलवार तदनुसार ई. सं. २०२५ जुलाई २२ तारिख, सिद्धार्थ नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, कलिगत ५१२६, शाके १९४७, नेपाल सं. ११४५, किरातवर्ष ५०८५, मञ्जुश्री वर्ष २८६१, हिजरी सं. १४४६, चन्द्रास्त : दिउँसो ०४:१३ बजे र चन्द्रोदय : भोलि बिहान ०२:५८ बजे, सूर्योदय : बिहान ०५:२२ बजे र सूर्यास्त : साँझ ०६:५७ बजे, श्रावण कृष्णपक्ष (दिल्लागा) द्वादशी तिथि, बिहान ०६:०१ बजेसम्म, त्यसपछि त्रयोदशी तिथि, भोलि बिहान ०४:०३ बजेसम्म, अन्तिममा चतुर्दशी तिथि (तिथि टुटेको दिन) , मृगशिरा नक्षत्र, बेलुका ०७:३३ बजेसम्म, त्यसपछि आर्द्रा नक्षत्र, चन्द्रमा बृष राशिमा, बिहान ०८:०९ बजेसम्म, त्यसपछि मिथुन राशिमा

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कतिपय आर्थिक समस्या सञ्चारसम्पर्कबाट नै हल गर्न सकिने छ । सञ्चार क्षेत्र, वित्तीय कारोवार, यातायात, ढुवानी र मार्केटिङको व्यवसायमा विशेष लाभ देखिन्छ । पारिवारिक जीवन र दैनिकीका दृष्टिले राम्रै दिन छ, माइतीपक्षसित भेटघाट हुने वा सम्बन्ध/सम्पर्क बढ्ने तथा सरसहयोग लिन/दिन सकिने समय हो ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सञ्चार वा नेटवर्किङका विभिन्न माध्यमले अल्मल्याउन सक्छन् । पराईसँग व्यवहार गर्दा शब्दहरूको चयन र प्रस्तुतिमा ध्यान दिनुहोला । धनको सहजता देखिए पनि खर्च गर्नुपर्दा होस राखेर चल्नुपर्ने समय छ । मुखका माध्यमले नै महत्त्वपूर्ण काम बन्नसक्ने राम्रो समय छ, सिनियर कर्मचारी वा वरिष्ठ कर्मचारीलाई खुसी पारेर आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
असम्भव आशामा वा जोखिममूलक काममा धन लगानी गर्नु हुँदैन । उता घर/परिवारको बारम्बार याद आउनाले मानसिक तनावसमेत बढ्नसक्छ । परिवारमा सुखसुविधाको जोहो गर्ने समय हो, फुटकर सामाग्रीका विक्रेता र खाद्यसामाग्रीको कारोबार छ भने अझ राम्रो गर्न सकिने छ । दैनिक जीवन सहजताका साथमा बिते पनि कुनै कारणवश पतिपत्नीमा विचार नमिल्न सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सोच्दै नसोचेको विषय वा क्षेत्रमा मन केन्द्रित हुनेछ । पढाइ छाड्ने वा फ्याकल्टी नै फेर्ने नकारात्मक सोचसमेत पलाउन सक्छ । धनको मामिलामा उदासीन बन्नुहुँदैन, त्यस्तै कुनै पनि ठूला निर्णयहरू लिनुहुँदैन । कुनै काम गर्ने हो भने केही समय योजना बनाउनुहोस्, अनुभवी र सिनियर्सको सुझाव ग्रहण गर्नुहोस्, अनिमात्र काम थाल्नुहोस् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सबै कार्य योजनानुसार सम्पन्न हुँदै जानेछन्, आपसी समन्वय र आन्तरिक सुख बढ्ने समय छ, पार्टनरसँग सानोतिनो यात्राको कार्यक्रम बन्नसक्छ । मित्र र सहयोगीहरूबाट लाभ मिल्नेछ । बहुप्रतीक्षित इच्छा र आकाङ्क्षाले पूर्णता पाउनेछन् र लामो दूरीको यात्रा लाभदायक रहनेछ । सरकारी कामका माध्यमबाट धनार्जन गर्न सकिने छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सरकारी कामका माध्यमबाट फाइदा हुनेछ । विपरीत परिस्थितिलाई कुशलतापूर्वक झेल्नाले आत्मविश्वास बढ्नेछ । शत्रुले हानि पुर्याउन सक्दैनन् । सामाजिक र राजनैतिक हैसियत निर्माणका दिशामा केही लगानी गर्नुपर्ने हुन्छ । प्रशासनिक वा सरकारसम्बद्ध कुनै काम सुल्झाउन उपयोगी समय छ । आपसी सम्बन्धमा नयाँ मिठास देखापर्न सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
शान्त र स्थिर मतिको उदय हुनेछ, परोपकारी समय हो, प्रेम र भाइचारालाई समेत जीवन्त तुल्याउन सकिने छ । ठूलाबडाको सहयोग लिन सके नबन्ने काम पनि बन्नसक्छ । क्षमता प्रदर्शन गरी अरुमाथि छाप छोड्ने समय हो । कार्य सम्पादनका माध्यमबाट सिनियरलाई समेत आकर्षित तुल्याउन सकिने छ । शरीर हलुका र मन प्रसन्न रहनेछ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
चुनौतीका बीचमा सम्भावनाका बाटाहरू फेला पर्नेछन् । नयाँ काम गर्नु छ भने कानूनी पाटो ख्याल गरी सुरु गर्नु उचित हुनेछ । पारिवारिक वातावरण सामान्य रहने छ, घरायसी प्रबन्ध वा बन्दोबस्तीमा व्यस्त भइने छ । भावना र इच्छाहरूको कदर हुँदैन र मन अशान्त बन्नसक्छ । मनोरञ्जनमा केन्द्रित भइदिनाले पढाइ बिथोलिने दिन हो।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर कुनै काम निकाल्नु छ भने प्रयास गर्ने दिन हो । नयाँ साथी बनाउन पाइने तथा नौलो विषयको जानकारी बटुल्ने दिन हो, मित्रवर्ग र सँगीसाथीको सहयोगमा नजानेको कुनै विषयको ज्ञानसमेत पाउन सकिन्छ । सबैको सहयोग प्राप्त हुनाले ताकेको कामबाट छिट्टै फुर्सद पाइने छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
हाकिम वा सेवाग्राहीको रिसको चक्रमा पर्न सकिन्छ, समस्या देखिएमा कलह वा विवादलाई होइन, बुद्धिकौशलको उपयोग गरी मिलनसार बनिदिनु राम्रो हुन्छ । आडम्बर देखाउनु हुँदैन, नत्र सामान्य मानेको विषयलाई प्रमाणित गर्न गाह्रो हुन्छ र बेकारको तर्कबितर्कमा दिन बित्ने परिस्थिति बन्नेछ । व्यक्तिगत स्वास्थ्यमा मौसमी प्रभाव पर्ने दिन हो ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
थोरै मिहिनेत गर्दासमेत ठूलो सफलता पाउने समय हो, ज्ञान बढाउने प्रयास गर्नुहोस्, तारिफयोग्य काम गर्दै भविष्य सुधार्ने मौका पाइने छ । मनको कुरो साथीले बुझिदिंदा आपसी सम्बन्धमा विश्वास र भरोसाको वातावरण बन्नेछ, एकान्तमा रमाउँदै भावना आदानप्रदान हुने समय हो ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
कुरा काट्नेहरूको सक्रियता बढ्न सक्छ, दिमाग भारी हुनसक्छ, तथापि बुढाबुढी वा परपाहुनाको सेवा र हेरचाह गर्नुपर्ने दिन हो । सोच्ने शक्ति र निर्णयात्मक क्षमतामा कमी आउने दिन हो । आज हरेक कुरामा यो गरौं कि त्यो गरौं भन्ने अलमल हुनसक्छ ।