माघ ९, काठमाडौं । सशस्त्र प्रहरी बलले आफ्नो २४औं वार्षिकोत्सव मनाएको छ । आज प्रधान कार्यालय हल्चोकमा विशेष कार्यक्रम गरी सशस्त्र प्रहरी बल नेपालले २४औं वार्षिकोत्सव मनाएको हो ।

सशस्त्र प्रहरीले स्थापना दिवस विशेष सप्ताहव्यापी कार्यक्रमअन्तर्गत हल्चोकमा सशस्त्र प्रहरी विशेष दलले ड्रिल, सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । विशेष समारोहमा आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी जवानलाई १६ वर्षमा अवकाश पाउने प्रावधान सशस्त्र प्रहरी बल नेपालको कानूनमा समावेश हुने बताउनुभयाे ।
२०५७ माघ ९ गते स्थापना भएको सशस्त्र प्रहरीलाई सरकारले सशस्त्र सङ्घर्ष, पृथकतावादी गतिविधि र आतङ्ककारी गतिविधि नियन्त्रण, सीमा सुरक्षा, हुलदङ्गा व्यवस्थापन, विपद् व्यवस्थापन, महत्त्वपूर्ण व्यक्ति तथा प्रतिष्ठानको सुरक्षा, राजस्व, भन्सार र औद्योगिक सुरक्षालगायत जिम्मेवारी दिएको छ ।
देशका सबै जिल्लामा उपस्थिति रहेको सशस्त्र प्रहरी ‘डेडिकेटेड’ सीमा सुरक्षा बलका रूपमा रहेको छ । भारत र चीनतर्फ सीमा जोडिएका क्षेत्रमा २ सय ५४ वटा ‘बोर्डर आउट पोस्ट’ स्थापना भएका छन् ।