• २०८३ बैशाख १६ गते बुधवार

नेपाली महिलाहरूको विशेष पर्व हरितालिका तीज

रिता खनाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ ५, बाणगंगा ।  नेपाली महिलाहरूको विशेष पर्व हरितालिका तीज सौन्दर्य, समर्पण र संस्कृतिको गहिरो भावनात्मक संगमका रूपमा मनाइन्छ। यही अवसर पारेर कपिलवस्तु बाणगंगा नगरपालिका–८, बोडगाउँस्थित द इभा ब्युटी हब मेकअप स्टुडियोले २५ जना महिला दिदीबहिनीलाई विशेष दर खुवाउँदै तीजको उल्लासमय वातावरणमा सामाजिक सद्भाव र महिला सशक्तिकरणको सन्देश दिएको छ।

कार्यक्रमलाई सफल बनाउन मुख्य भूमिका खेलेकी थिइन् स्टुडियोकी सञ्चालक संगीता गुरुङ। उनको भनाइमा, “हरितालिका तीज मनाउँदा केवल दर खुवाउनु मात्र उद्देश्य होइन, त्यो अवसरलाई महिलालाई सम्मान र प्रेरणा दिने थलो बनाउनुपर्छ।” कार्यक्रममा सहभागी महिलालाई नेपाली परिकारसहितको दर खुवाइएका साथै आत्मनिर्भर बन्न सीप सिक्ने र घरमै बसेर पनि आम्दानी गर्न सकिने विषयमा जानकारीमूलक सन्देश दिइएको थियो।

लगनशील गुरुङले करिब ६ वर्षअघि सामान्य लगानीमा द इभा ब्युटी हब सुरु गरेकी थिइन्। हालसम्म उनले ५ सयभन्दा बढी महिलालाई ब्युटिसियन तालिम, हेयर ट्रीटमेन्ट, कपाल क्याराटिन, नेल आर्ट, मेकअप कला, केमिकल क्लास लगायतका सीप प्रशिक्षण दिँदै रोजगारीको अवसर समेत सिर्जना गरेकी छन्।

गुरुङ भन्छिन्, “महिलाको आर्थिक अवस्था सबल नहुँदा उनीहरू आत्मनिर्भर बन्न सक्दैनन्। त्यसैले मैले यस्तो प्लेटफर्म सिर्जना गरेकी हुँ, जहाँ महिलाले सीप सिक्न मात्र होइन, कमाउन पनि सकून्।”

सामाजिक भावनाले ओतप्रोत गुरुङले व्यवसायिक सफलता मात्र होइन, सामाजिक योगदानलाई पनि उत्तिकै महत्व दिएकी छन्। हालै उनले ओशो आश्रम, बाणगंगालाई रु. ५,००० सहयोग गरेकी थिइन्। आगामी दिनमा मानव सेवा आश्रम लगायत अन्य सामाजिक संस्थामा सहयोग गर्ने उनको योजना छ। “म कमाउँछु तर कमाइको केही हिस्सा समाजका लागि खर्च गर्नुपर्छ भन्ने मेरो दायित्व हो,” उनी भन्छिन्।

संगीता गुरुङको जीवन यात्रा सजिलो भने थिएन। संघर्ष, लगनशीलता र आत्मबलकै कारण उनले आज कपिलवस्तु जिल्लामा आफूलाई सशक्त महिला उद्यमीका रूपमा स्थापित गर्न सफल भएकी छन्। उनको भनाइमा, “महिला जब आर्थिक रूपमा सबल हुन्छन्, तब मात्र समाजमा वास्तविक परिवर्तन सम्भव हुन्छ।”

द इभा ब्युटी हबले दर खुवाउने जस्ता सांस्कृतिक कार्यक्रममा सामाजिक सन्देशसँगै महिला सशक्तिकरण र उद्यमशीलताको उत्कृष्ट नमुना प्रस्तुत गरेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस