पौष ५, काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले महाधिवेशनपछि आफू पक्षीय नेता–कार्यकर्ताको भेला गर्दै पार्टीभित्र उठाइएका मुद्दालाई निरन्तर अघि बढाइने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित भेलामा महाधिवेशनमा आफ्नो प्यानलबाट उम्मेदवार बनेका नेताहरूको सहभागिता थियो। भेलालाई सम्बोधन गर्दै पोखरेलले जिल्ला र प्रदेशस्तरमा विभिन्न फोरम आयोजना गर्न आग्रह गरे।

महाधिवेशन सम्पन्न भए पनि आफूहरूले उठाएका मुद्दा समाप्त नभएको उनको भनाइ थियो। “जुन मुद्दा लिएर हामी अघि बढेका थियौं, ती मुद्दा मर्दैनन्,” उनले भने।
पार्टी विभाजनको प्रयास नभएको स्पष्ट पार्दै पोखरेलले सही विचारका लागि समर्पण स्वीकार्य नहुने बताए। साथै पार्टीभित्र विचार र व्यवहारबीच देखिएको अन्तरप्रति चिन्ता व्यक्त गर्दै पार्टीलाई भीड नभई शक्तिमा रूपान्तरण गर्नुपर्ने बताए।