• २०८३ बैशाख २४ गते बिहिवार

नेदरल्याण्ड्समाथि नेपाल ६ विकेटले विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

असार ६, काठमाडौं । नेपालले स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा आज नेदरल्याण्ड्सलाई पराजित गरेको छ । नेपाल ६ विकेटले विजयी भयो । १ सय ७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका ओपनर कुशल भुर्तेलले महत्वपूर्ण इनिङ खेल्दै अर्धशतक पूरा गरे। ५१ बल खेलेका उनले ६ चौकाको सहयोगमा सर्वाधिक ६५ रनको बनाए । टि ट्वान्टी आईमा यो उनको ११औं अर्धशतक हो । उनले ३८ बलमा अर्धशतक पूरा गरे । कुशलले ९.४ ओभरमा ४४ रन बनाउँदा विक्रमजित सिंहको बलमा नोहा क्रोसबाट क्याच छुट्दा जीवनदान पाए । नेपालका अर्का ओपनर आसिफ शेखले कुशलसँग पहिलो विकेटका लागि २२ रनको साझेदारी गरे ‌। आसिफ ६ बलमा ७ रनमा आउट भए । दोस्रो विकेटका लागि कुशलले भीम सार्कीसँग ५४ रनको साझेदारी गरे ।

भीमले १६ बलमा २ चौका र १ छक्कासहित २७ रन जोडे । भीमको यो टि ट्वान्टी आई डेब्यु खेल हो । नेपालका लागि टि ट्वान्टी आईमा प्रतिनिधित्व गर्ने भीम ५२औं खेलाडी हुन् । भीमलाई नेपाली टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले डेब्यु क्याप हस्तान्तरण गरेका थिए ।

तेस्रो विकेटका लागि कप्तान रोहितकुमार पौडेलले कुशलसँग खास साझेदारी गर्न सकेनन् । रोहित ७ बलमा ५ रनमा आउट भए । चौथो विकेटका लागि आरिफ शेखसँग कुशलले सानदार साझेदारी गरे । उनीहरुले २७ बलमा ४४ रनको साझेदारी गरे । आरिफ २३ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३९ रनमा रिटार्यट हर्ट भए ।

पाँचौ विकेटका लागि आरिफसँग उपकप्तान दीपेन्द्रले २० बलमा २७ रनको साझेदारी गरे । दीपेन्द्र १२ बलमा १६ रनमा अविजित रहे । लोकश बम ४ बलमा १२ रनमा अविजित रहे । लोकेशले छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए ।

त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेको थियो। पहिला ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७४ रनको बनायो । नेदरल्याण्ड्स ओपनर माइकल लेविटले ५३ बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक ८६ रनको अर्धशतकीय इनिङ खेले । लेविट करण केसीको बलमा रोहितबाट क्याच भए । पाँचौ विकेटका लागि लेविटले सकिव जुल्फिकरसँग ३३ बलमा ६३ रनको साझेदारी गरे । दुईबीचको साझेदारी सन्दीप लामिछानेले तोडे । सन्दीपले जुल्फिकरलाई ११ बलमा १४ रनमा आउट गरेका हुन् । रोइलेफ भान डर मिर्वो २१ बलमा ३६ तथा आर्यान दत्त १८ बलमा १७ रन बनाउँदै नट आउट रहे । नेदरल्याण्ड्सका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि करणले २ तथा सन्दीप, रुपेश सिंह, ललितनारायण राजवंशी, दीपेन्द्रले समान १ विकेट लिए ।

जितसँगै ३ खेलमा २ मा जित र १ मा हार बेहोरेको नेपाल ४ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । सिरिजको अन्तिम खेल खेलेको नेदरल्याण्ड्स ४ अंकका साथ तालिकाको दोस्रो स्थानमा झरेको छ । स्कटल्याण्ड तेस्रो स्थानमा छ।

Sharing

प्रतिक्रिया दिनुहोस