जेठ ४, काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वास्थ्य सेवा सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । पोखरा महानगरपालिका–२६ स्थित गण्डकी आयुर्वेद अस्पतालको अन्तरङ्गलगायत सेवाको आज शुभारम्भ गर्दै उहाँले सरकारले आगामी बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिने बताउनुभयो ।

सरकारको आगामी आर्थिक वर्षको बजेटमा अन्य मन्त्रालयको बजेट घटे पनि स्वास्थ्यतर्फको बजेट नघट्ने र गत वर्षभन्दा केही बढ्ने उहाँको भनाइ थियो । मुख्यमन्त्री पाण्डेले पछिल्लो समय आयुर्वेद चिकित्साप्रति आकर्षण बढिरहेको र यसको विकास तथा विस्तारका लागि सरकार लागेको बताउनुभयो । उहाँले नेपाल जटिबुटीका लागि हामी सम्पन्न रहेकाले यसको उपयोगतर्फ लाग्नका लागि आयुर्वेद चिकित्सालाई अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले सरकारले प्रदेशमा रहेका अस्पतालहरू स्तरोन्नति गर्ने क्रममा गण्डकी आयुर्वेद अस्पतालको स्तरोन्नति गरिएको बताउनुभयो । आधुनिक मात्र नभै प्राचीन र प्राकृतिक चिकित्सा क्षेत्रको विकासलाई सँगसँगै लैजानुपर्नेमा सरकार प्रष्ट रहेको उहाँले बताउनुभयो ।
प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले आयुर्वेद चिकित्साप्रति आकर्षण बढिरहेको बताउनुभयो । गुणकारी औषधिजन्य वस्तुको पहिचान गरी त्यसको उपयोग गर्नुपर्ने भन्दै उहाँले यसका लागि आयुर्वेद चिकित्सा प्रणालीलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रदेशका स्वास्थ्य सचिव विश्वबन्धु बगाले, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, गण्डकी आयुर्वेद अस्पतालका प्रमुख डा शङ्कर गौतम, डा दिक्षा पौडेललगायतले धारणा राख्नुभएको थियो । त्यस अवसरमा मुख्यमन्त्री पाण्डेले अस्पतालको अन्तरङ्ग सेवासँगै अस्पतालमा रहेको सःशुल्क फार्मेशी, जडिबुटी औषधि उत्पादन एकाइ, कुटीस्वेदन यन्त्रलगायतको उद्घाटन र बिरामीलाई फलफूल वितरण गर्नुभएको थियो ।